सर्लाही । सर्लाहीको भारतीय सीमावर्ती क्षेत्र हिरापुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) वैधनाथ दास फेरि घुसकाण्डमा मुछिएका छन्। तस्करसँगको लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई नेपाल प्रहरीले निलम्बनका लागि प्रक्रिया अघि बढाएको हो।
घटना अनुसार, सई दासले नामी तस्कर राजीव यादवसँग घुमुवा प्रहरी जवान सन्तोष यादवमार्फत १८ हजार रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले मधेस प्रदेश प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयमा निलम्बनको सिफारिस पठाएको हो।
डीएसपी सरोज राईका अनुसार, शुक्रबार बिहान अडियो सार्वजनिक भएपछि प्रमाण नष्ट हुन नदिन तत्कालै कारबाही थालिएको हो। “अब उनको स्थानमा नयाँ सई पठाउने तयारी भइरहेको छ,” राईले बताए।
यसअघि पनि सई दास पर्सा जिल्लामा कार्यरत रहँदा २०७७ साल मंसिर ५ गते तस्करसँगको लेनदेनमा मुछिएर निलम्बनमा परेका थिए। करिब एक वर्षपछि कारबाही फुकुवा भई पुनः सेवा प्रवेश गरेका उनी फेरि पुरानै बाटोमा लागेको देखिएको छ।
हिरापुर नाका भारतसँग जोडिएको संवेदनशील क्षेत्र हो, जहाँ प्रहरीको मिलेमतोमा तस्करी हुने गम्भीर आरोपहरू पहिले पनि उठ्दै आएका छन्। त्यहीँ करिब ८ महिनादेखि खटिएका सई दासले आफूलाई ‘सिंघम’ भनेर चिनाउन रुचाउने गरे पनि व्यवहारमा भने तस्करसँगको साँठगाँठबाट टाढा रहन सकेनन्।
यो घटनाले सीमावर्ती क्षेत्रमा हुने तस्करीमा सुरक्षाकर्मीको संलग्नता र प्रहरी संगठनभित्रको अनुशासनसम्बन्धी गम्भीर प्रश्न उठाएको छ।






