वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सार्वजनिक स्रोतबाट भइरहेको पानी वितरणमा कुनै पनि प्रकारको भेदभाव सह्य नहुने स्पष्ट पार्दै दोषीमाथि कारबाही हुने चेतावनी दिएका छन्।
महानगर क्षेत्रभित्र चापाकलहरू सुकेपछि दुई महिनादेखि खानेपानीको चरम संकट व्याप्त छ। यस्तो कठिन घडीमा पनि केही व्यक्तिहरूले सरकारी डिप बोरिङमार्फत वितरण भइरहेको पानीमा व्यापारिक लाभ खोजी, प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म असुली गर्दै अनधिकृत रूपमा पानी आपूर्ति गरिरहेको गुनासो आएको थियो।
यसै सन्दर्भमा शनिबार मेयर सिंह स्वयं वीरगन्ज–१५ स्थित विवादित स्थानमा पुगे। स्थानीयबासीबाट गुनासो सुनेपछि उनले भने, “विपत्तिको बेलामा साझा स्रोतको दुरुपयोग अपराध हो। कसैले पैसा उठाएर पानी दिएको प्रमाणित भए कडाभन्दा कडा कारबाही हुन्छ।”
उनले सबै नागरिकलाई समानरूपमा, पारदर्शी र निष्पक्ष वितरण सुनिश्चित गर्न सम्बद्ध वडाध्यक्ष र कर्मचारीहरूलाई निर्देशनसमेत दिएका छन्।
उनका साथमा पुगेका वीरगन्ज–१५ का वडाध्यक्ष रमेश यादवले पनि यो समस्याको समाधानका लागि निष्पक्ष वितरण सुनिश्चित गर्न आफू क्रियाशील हुने प्रतिबद्धता जनाए।
मेयर सिंहले सोही दिन भेडियाही, इटियाही र नेशनल मेडिकल कलेज क्षेत्र लगायतका अन्य स्थानको पानी आपूर्तिसम्बन्धी अवस्था निरीक्षण गरे। निरीक्षणका क्रममा उनले कतिपय स्थानमा अझै पाइपलाइन विस्तार आवश्यक रहेको भन्दै सम्बन्धित प्राविधिकलाई तत्काल कार्यान्वयनमा लाग्न आदेश दिए।
“अबदेखि पानी वितरणको प्रक्रिया समन्वयात्मक, खुला र पारदर्शी हुनेछ”, मेयर सिंहले प्रष्ट पारे।
धरातलीय जलस्रोतको सतह घट्दै गएसँगै वीरगन्जमा खानेपानीको समस्या झनै गम्भीर बन्दै गएको छ। यसैलाई दृष्टिगत गर्दै महानगरले विभिन्न स्थानहरूमा डीप बोरिङ गाड्ने, पानी ट्यांकी निर्माण गर्ने र ट्यांकरमार्फत वितरण गर्ने कार्यलाई तीव्र बनाउँदै आएको छ।






