बारा । खुलेआम सडकमा लागुऔषध बोकी हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला बारा अन्तर्गत विश्रामपुर गाउँपालिका–१ घोडासहनका २२ वर्षीय अजमुलहक अन्सारीलाई १४७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय प्रसौनी, जिल्ला प्रहरी कार्यालय बारा तथा लागू औषध नियन्त्रण ब्यूरो वीरगञ्ज शाखाबाट खटिएको संयुक्त टोलीले साउन १४ गते दिउँसो करिब २:५० बजे फेटा गाउँपालिका–१ भलुहीस्थित कलैया–प्रसौनी सडक खण्डमा पैदल हिँडिरहेका अन्सारीलाई शंका लागेपछि रोकेर तलासी लिएको थियो।
प्रहरीले जनाएको अनुसार, अन्सारीको साथबाट ब्राउन सुगरजस्तो देखिने दुई प्रकारका लागूऔषध बरामद गरिएको छ — जसमध्ये ६०० मिलिग्राम सुक्खा र १४६.५८ ग्राम लेदो अवस्थाको पदार्थ थियो।
यससँगै लागुऔषध कारोबारीहरू अब ग्रामीण सडक मार्गमा समेत सहजै गतिविधि गरिरहेको संकेत देखिएको छ। पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।
प्रहरीका अनुसार, यो घटनाले लागुऔषध तस्करीको सञ्जाल अझै गहिरो अनुसन्धान आवश्यक रहेको देखाएको छ।






