बीरगंज l २०८२ असार महिनाको १७ गते मंगलबार का दिन मधेश प्रदेश उधोग विभाग तथा जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनमा पवित्र श्रीसिया नदी प्रदुषण मुक्त गर्नु पर्ने यसको दोषी को ? तथा यसको निराकरण कसरी गर्ने भनि सम्बन्धित सरोकार वाला हरुको एउटा संयुक्त बैठक होटल भिष्वा बीरगंजमा उपरोक्त दुबै सरकारी निकाय द्वारा पुनः राखियो।
यसमा उधोग विभागका महानिर्देशक, पदाधिकारीहरु बारा तथा पर्सा का प्रमुख जिल्ला अधिकारी ज्यू हरु, बीरगंज महानगर का नगर प्रमुख, बारा नगरपालिका का प्रमुख, बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी, बारा उधोग वाणिज्य संघ का अध्यक्ष, पदाधिकारी दुबै जिल्ला का प्रहरी प्रमुख शसस्त्र प्रहरी प्रमुख ज्यू हरु,उधोगपति तथा उहाँहरु भन्दा धेरै जसो उनका प्रतिनिधिहरु, सामाजिक अभियंताहरु तथा पत्रकार साथिहरुको उपस्थिति रहेको थियो। श्रीसिया सम्बन्धित यस्ता तारे होटलमा पटक-२ बस्ने बैठक सम्मेलन अंतरक्रिया बाचा बंधन बाट जनता आजित भई सकेका छन्। हामी पनि यस्तो कार्यक्रममा गएर चिया खाजा खाएर समय र धैर्य खर्च गर्ने मानसिकतामा छैनौ, तर भनिन्छ नि जब सम्म सांस छ आश छ अब केहि भई हाल्छ कि भन्ने सोचका साथ उक्त कार्यक्रममा उपस्थित भइयो किन भने विशुद्धता साथ अभियानमा लागि परेका छौं, हार्दिकता साथ यो अभियानमा होमिएका छौं, कुनै आर्थिक एवं राजनैतिक स्वार्थ र अभिलाषा छैन यसपाली पनि सो आशाका साथ उपरोक्त कार्यक्रममा सादर निमंत्रणा साथ गईयो।
सरोकार वालाहरुको बैठकमा केहि अभियंताहरु लाई छुटाइयो, मुख्य सरोकार वालाहरु ति पिडित गाउँका बासिन्दाहरु जो प्रत्यक्ष पिडित छन् जो रोगले थिलथिलिएका छन् कोहि त रोग लागेर बिति पनि सके, सुखचैना, पटेल नगर, सौराहा, जगन्नाथपुरका बासिंदाहरु (नकारात्मक सोच, रक्त क्यांसर, छालाको क्यांसर, क्यांसर, श्वास प्रश्वास, दम अस्थमा, ज्वंडिस, उच्च रक्तचाप, ह्रदय सम्बन्धी रोग, मानसिक तनाव, मधुमेह, बाँझोपन, हैजा, दादुरा, डेंगू, बहुलापन, उत्तेजना, छिटै रिसाउने, छिटै बिर्सने, मनोभृंस, दिग्भ्रमित रोग, मानसिक दुर्बलता, सुस्त मनःस्थिति, शारीरिक दुर्बलता आदि) उपरोक्त विभिन्न रोगहरु ले विगत ३० वर्ष देखि पिडित छन् प्रताड़ित छन् । खुलेर बोल्न सक्दैनन कैमरामा बोल्न चाहँदैनन् कहि डर छ कतै आवश्यकता, कतै बाध्यता छ, वर्षमा एक दुई पल्ट २ वटा सारी फरिया, पिठो, चामल हद भयो भने कसैलाई सानो तिनो जागिरले मुख टालिन्छ ।
विगत ४० वर्ष देखि श्रीसिया नदी विस्तारै मृत हुदै गई सक्यो, हाम्रा अग्रजहरु ले पनि यो विषयमा पटकपटक आवाज आंदोलन धर्ना तथा प्रदर्शन गर्दै आए थिए आज उहाँहरु कालगतिले वैकुंठ वास पनि भइसके। हामी पनि विगत २० वर्ष देखि यस अभियानमा तन, मन तथा धनले लागेका छौं । अनुरोध, विन्ति, विभिन्न आवश्यक धर्नाहरु, ध्यानाकर्षण पत्रहरु, हस्ताक्षर अभियान साथै हाल श्रीसिया नदीमा प्रवाह भईरहेको विषादी, कालो लेउ युक्त पानी शीशीमा लगेर सम्बन्धित निकाय व्यक्तिहरु लाई उपहार पनि चढाई सकेका छौं ।
यहाँ कराउँदा मन्त्रालय सम्म गुंज पुग्छ, तर उहि मिलेमतो चलखेल केही दिन कोलाहल हुन्छ, नियम नियमन का कुराहरु आउँछ, छठ पुजाको बेलामा ७ दिन उधोगहरु ले नदीमा पानी मिसाउन छाड्छन्, त्यत्ति खेर पानी सफा हुन्छ, त्यस पछि फेरी उहि कालो लेदो विषादी, रोग व्याधि औषधि उपचार, उपरांत मृत्यु, मानविय जीवन को केही मुल्य छैन। आखिर कहिले सम्म र किन? हामी मानविय सोच र विचार किन राख्दैनौं? उधोग, व्यापार, पैसा नै सबै थोक रहेछ, मानव जीवनको केही मुल्य छैन।
कार्यक्रममा आ-आफनो समस्या, दुखेसो गुनासाहरु राखियो छलफल गरियो तर वास्तवमा दोषी को त? सबैको आ- आफ्नो तर्क र वितर्क छन् जे भए पनि नदी कसरी मृत भयो त यसमा रहेका जलचरहरु कसरी हराएर गए त यो प्रश्न थाँति नै रह्यो।
आखिर यो देशमा सरकार छ कि छैन, नेपालमा सर्वसाधारणले स्वास्थ्य सुरक्षा साथ स्वस्थ जीवन यापन गर्न पाउने अधिकार छ कि छैन? वातावरण वायु, ध्वनि, जल, प्रदूषण गर्ने लाई कुनै ऐन सजाए छ कि छैन? छ भने अनुभूति खोई त? जंगल राज छ! उधोगको विषादी रसायन युक्त पानी लाई ठाडो प्राकृतिक नदी पोखरी ईनार कुवामा फाल्न मिसाउन पाउछ? कुन ऐन कानुनमा छ?
उधोग विभागले उधोग दता गर्दा नेपाल सरकार को उधोग दर्ता ऐन वातावरण संबंधित कुनै नियम प्रतिबद्धता करार राखेर अनुमति दिएको होला, उधोगपतिहरु ले पनि सो प्रतिबद्धता अंतर्गत वातावरण तथा मानव जीवन लाई कुनै क्षति न हुने गरी उधोग संचालन गर्ने प्रतिबद्धता सहि छाप गरेर अनुमति लिएका होलान, जथाभावि फोहोर मैला, धुवां धुलो गर्छु, जिवनदायिनी पवित्र नदी, पोखरी, पौवामा विषैलो, रसायन युक्त (कार्बन डाइअक्साइड, मोनो अक्साइड, सल्फर अक्साइड, मिथेन, क्लोरोफिल, लेड, जिंक, यूरिया, पोटाश, पेस्टीसाइड) मानव जीवन तथा वातावरण लाई ध्वस्त पार्ने पानी सिधा फाल्छु भनेर अनुमति त अवश्य नै पाएको छैनन् होला।
उधोग व्यापार पैसाको सामु मानव जीवनको केही मुल्य छैन। यो समस्याले पुरा देश खासगरि जिल्ला तथा वरिपरि का वातावरण तथा व्यक्तिहरु प्रभावित छन्। सिमावर्ति क्षेत्र भारत बिहार रक्सौल का साथीहरुको झनै गुनासा हरु छन् केही पल्ट त सिमा नै बन्द गरेर हड़ताल एवं व्यापक विरोध प्रदर्शन गरेका छन् बिहार राज्य को संसदीय बैठक मा पनि मुद्दा उठेको छ , हामी आगोमा बसेका छौ कुनै दिन पनि यो प्रज्ज्वलित भई यसले विकराल रुप लिन सक्छ, यसले दुबै देश र जनता बिच फाटो ल्याउन सक्छ हेक्का होस।
हुन त श्री नागेन्द्र झा तत्कालीन प्रमुख जिल्ला अधिकारी भएको बेलामा सरकार द्वारा नै विभिन्न निकायहरु लाई समावेश गरि अनुसंधान गरेर श्रीसिया नदी २०६७ प्रतिवेदन तयार पारि ४८ वटा उधोगहरु को नाम, चरम लापरवाही, दोष, किटान गरी पेश गरिएको थियो उपरांत कुरा सामसुम भयो, हामी ले पुनः उक्त फाइल लाई झिक्न लगाएर त्यसको पनि हवाला दिदैं पटकपटक आंदोलन चलाउँदै आएका छौं। हाल आएर केहि पुरान उधोगहरु बन्द छन् कतिपय नया थपिएका छन्।
उधोगपति हरुको आफ्नो समस्या अडान र धमास छ उधोग बन्द गर्छौ राजस्व रोकिदिन्छौ, रोजगारी खतम पारिदिन्छौ आदि उधोग व्यापार देश को मेरुदंड हो रोजगारी आवश्यक पनि छ, जीवन यापन लाई तर के यो जीवन तथा स्वास्थ्य भन्दा ठुलो हो स्वास्थ्य र जीवन नै रहेन भने उधोग व्यापार पैसा शक्ति के गर्ने। देशमा अन्य स्थानहरुमा पनि उधोगहरु छन् समस्या त्यहाँका पनि होलान तर बारा र पर्सामा जस्तो भयावह समस्या कहि सुनिदैन देखिदैन आफ्नो आर्थिक लाभको लागि यस्तो वातावरण तथा मानवता प्रति अपराध गर्ने लाई सरकार ले कसीमा राख्नु पर्ने हो कि हैन, अब जनताले आफैले निर्णय गर्ने समय आउँदैछ। कत्ति दौडिने कहाँ सम्म दौडिन यहि जमीन हो यही धरती हो कहाँ सम्म जान सकिन्छ र?
उधोग धन्दा बन्द गर्ने गराउने कुनै मनसाय होइन देशको आर्थिक श्रोत हो समाज कसरी चल्छ पेट कसरी भर्छ? तर व्यवस्थित हुनु पर्यो विषादी रसायन युक्त पानी प्रशोधन हुनु पर्यो प्रशोधन यंत्र उपकरण जडान गर्नु पर्यो विडम्बना यो छ कि प्रशोधन उपकरण भएकाले पनि खर्च लाग्छ भनेर चलाउदैनन, आफ्नो मुनाफा धेरै हुनु पर्यो जनता जाओस खन्तामा । आश्चर्य के छ भने नियमन हुदैँन सम्बन्धित निकाय तै चुप मै चुप। उत्पादन विदेश निर्यात गर्ने उधोगहरु ले वातावरण प्रदूषण गरि वातावरण तथा जनता लाई असर परेको जानकारी पाएमा त्यस उधोग को वस्तु खरीद गर्ने विदेशी कंपनीले अडर रद्द पनि गर्न सक्छन् चेतना भया।
पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यू हरुको उर्जा, भाषा, शारीरिक भाषामा तटस्थ, जागरुकता, जिम्मेवारी बोध, महसुस भएको छ, तर आज एक महिना भइ सक्दा पनि कुनै हलचल महसुस नभए पछि यो लेख लेख्दै छु, स्मरण गराउनु पर्ने कर्तव्य बोध भयो, यस बिच प्रकृति सेवा प्रतिष्ठान, नेपाल को समुहले फेरि पनि रामवन श्रीसिया नदीको मुहान बाट पवित्र स्वच्छ जल लिएर पिएर ठाउँ ठाउँमा कहाँ कहाँ बाट कुन कुन उधोग बाट जल प्रदूषण हुने गरेको, प्रदूषित हुने क्रम जारी रहेको अनुसंधान, सुपरिवेक्षण छायांकन गर्दै आएका छौंं । रामवन देखि स्वच्छ, कंचन बग्दै आएको पानी अलि ओरतिर पुग नपुग जितपुरको लालका पुल सम्म पानी स्वच्छ रहन्छ, लालका पुल बाट साँचै नै रातो लाल भएर विभिन्न विषादी रसायन, छाँइ सित मिल्दै हरियो, निलो, कालो लेउ हुदै अगाडि बढिरहेको प्रष्ट देख्न सकिन्छ । सम्बन्धित सबै लाई चेतना भया। मुख्य नदी प्रदुषणको समस्या तथा दोश्रो ठुलो समस्या नदी अधिकरणको रहेको छ, नदी अब कुलो र नालामा परिणत भई सकेको छ।
यसलाई संवर्द्धन र संरक्षण गर्ने दायित्व सबैको हो। विज्ञको सल्लाह लिएर पैदल पथ वृक्षारोपण, आदि गरि पानी लाई पहिले जस्तै स्वस्थ एवं सलल बगेको हेर्ने सबैको सपना रहेको छ । नदी पोखरी पौवा पाटी जीवनमा दैनिक प्रयोग हुने पानी मात्र नभइ हाम्रो संस्कृति, सभ्यता तथा सम्पदा हो। श्रीसिया नदी सित हाम्रो धार्मिक, सामाजिक तथा सांस्कृतिक आस्था जोडिएको छ , हाम्रो ऋिति तिथि, पुजा, पाठ, तर्पण एवं अर्पणले यसै बाट पुर्णता पाउने गरेको छ, खास गरी राष्ट्रीय महान आस्थाको पर्व छठ पुजामा यिनको अत्याधिक ठुलो स्थान र भुमिका छ। युगौं देखि श्रद्धालु, भक्तालुहरु ले सांझ र एकै बिहान घण्टौ नदीमा उभिएर अस्ताउँदो तथा उदाउँदो सुर्यदेव लाई आस्था एवं भक्ति साथ अर्घ दिने गर्दछन् , त्यसले उक्त स्थानमा र नदीमा अध्यात्मिक शक्ति एवं उर्जाको प्रवाह हुने हाम्रो मान्यता रहेको छ। जल बिना जीवनको कल्पना पनि गर्न सकिन्न। खाना न खाएर मानिस केही दिन वा हफ्ता बाच्न सक्छ, तर पानी बिन कतिन्जेल बाच्न सक्छ होला तथ्याकं हेरौं । केही वर्ष अगाडि श्रीसिया को पानी परिक्षण पनि गराएका थियौ एकदम खतरनाक रिपोर्ट आएको थियो अब फेरि परिक्षण गराउने बिचारमा छौं, धेरै खर्चिलो भएकोले आट्न गार्हो भएको छ ।
अस्तिको कार्यक्रममा बीरगंज महानगरपालिका का दुइ जना वातावरण विज्ञ अधिकृतहरु ले गूगल काकाको नक्शा बाट आफ्नो अध्धयन अनुसार वैज्ञानिक विश्लेषण गरेर स्लाइड मार्फत हामीलाई बुझाउने प्रयास गरेका थिए, तर हामी पटक -२ घाम, पानी छिचोल्दै रामवन सम्म पुगेर ताजा ताजा अनुभव, अनुभूति बटुल्दै छायांकन गर्दै स्थानीय बासिन्दाहरु सित अंतरवार्ता, भलाकुसारी गर्ने गरेका छौं। एक दुई पल्ट महानगरपालिका ले दण्ड जरीवाना गरेको पनि जानकारीमा आएको थियो तर दण्ड जरिवाना पर्याप्त रहेनछ ।
आत्मबोध, आत्मालोचन, ग्लानि, सुधार र चेत अझै पुगेको रहेनछ। करीब एक वर्ष अगाडि कुनै कन्सलटेंट मार्फत यूकेको (UK) एक अनुदान परियोजनाले तीन वटा प्रदेशमा नदी सफा व्यवस्थित गरि करिडोर बनाउने कुरा हुँदैछ भन्ने कुरा हाम्रो जानकारीमा आएको थियो र उहाँहरु लाई हाम्रो हार्दिक आग्रह र अनुरोध के थियो भने कम-से-कम मधेश प्रदेशलाई जरुर पारियोस र त्यसमा पनि बीरगंज श्रीसिया अवश्य परोस, यूएसमा(US) ट्रम्प सरकारले विभिन्न खाले आर्थिक प्रतिबंध लगाए पछि (उक्त परियोजनामा यूएस को लगानी पनि छ) यसमा केही ढिलाई तथा हृास आएको ले सो परियोजना मधेश प्रदेशमा जनकपुर एवं अन्य दुई प्रदेश तीर पुग्यो। हाम्रो जानकारी, सम्पर्क बाट हुने राष्ट्रीय अन्तर्राष्ट्रीय सहयोग, योगदान पर्सा बीरगंज श्रीसियाको लागि होस् हाम्रो निरन्तर प्रयास हिजो, आज र भोली रही रहने छ ।
यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्यू ले उधोगपतिहरु लाई सुधारको शुरुवात गर्नको लागि १५ दिने अल्टीमेटम दिएर “धेरै भयो अब नो इफ्स नो बट्सको” चेतावनी साथ सो कार्यक्रम समापनमा १५ दिन भित्र केहि सुधारोन्मुख शुरुवातको लागि प्रतिबद्धता तथा हस्ताक्षर गराइएका भए पनि यस क्षेत्रका उधोगी व्यवसायी हरुले सघाएका र टेरेका वातावरण देखिदैन, केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी ज्यू सित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन, उधोग विभागका महानिर्देशक ज्यू काठमाण्डौमा हुनु हुन्थ्यो फोनमा कुरा गर्दा कसै बाट केहि पहल या कुरा न आएको, आइतबार फर्के पछि कुरा गर्छु भन्नु भयो। यसपाली प्रशासनको लागि यो एक प्रकारको ठुलो चुनौती पनि देखिन्छ।
आफु पुनः श्रीसिया नदी तथा साथीभाई प्रति दोषी महसुस गर्दै, अब देखि यस्ता कार्यक्रममा जानु व्यर्थ हुने गरेको पुनर्मूल्यांकन गर्दैछु ।
लेख: जसपाल सिंह, श्रीपुर, बीरगंज
प्रकृति सेवा प्रतिष्ठान, नेपाल







प्रकृतिवीरले यति छिटो हार स्वीकार गर्नुपरेन!केही साकारात्मक अवश्य हुनेछ्ह।