वीरगञ्ज । वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक रूपले विपन्न, असहाय तथा गरिब वर्गलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत करिब ६ सय थान नयाँ तथा प्रयोगयोग्य पुराना कपडा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।
साताको प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेबाट बेलुका ५:०० बजेसम्म कार्यालय (वीरगञ्ज–८) मा नियमित रूपमा सेवा दिइरहेको बैंकले प्रत्येक महिना घण्टाघरमा पनि विशेष वितरण कार्यक्रम गर्दै आएको छ।
कार्यक्रम वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी एवं अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मी रहेका थिए भने सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी हुकुमसिंह राजपुत, सतीशसिंह राजपुत, युवा अभियन्ता केदार गुप्ता, उपाध्यक्षद्वय प्रकाश थारु र मोनिका सिंह, कोषाध्यक्ष मनोज मिश्रा तथा सदस्यहरू हरेन्द्र पटेल, संजय मण्डल, राजेश श्रीवास्तव, जानकी देवी, नवराज भट्टराई, अभिलाष गुप्ता, राहुलसिंह राजपुत लगायत सञ्चारकर्मीहरू राज सराफ, राम आर्य, श्रीनारायण पर्सेली र अर्जुन गुप्ताको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि कुर्मीले ‘जोसँग धेरै छ, उसले दिनुहोस्, जसलाई आवश्यक छ, उसले लिनुहोस्’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले विगत ६ वर्षदेखि नियमित रूपमा सेवा पुर्याउँदै आएको र विपद्का समयमा प्रभावितहरूको घरमै पुगेर कपडासहित अन्य सामग्री पनि वितरण गर्दै आएको उल्लेख गरे। साथै, प्रत्येक व्यक्तिले आफ्ना आम्दानीको ५–१० प्रतिशत हिस्सा समाजसेवामा खर्च गर्ने बानी बसाल्नुपर्ने कुरामा जोड दिए।
सल्लाहकार उपाध्यायले कोही पनि नाङ्गो नहोस् भन्ने उद्देश्यले नयाँ तथा राम्रो अवस्थाका पुराना कपडाहरू वितरण गर्दै आइरहेको कपडा बैंकको कार्यको प्रशंसा गर्दै सहयोगी दाताहरूप्रति आभार व्यक्त गरे।
अध्यक्ष सिंहले सबैको सामूहिक प्रयासबाट असहाय तथा पीडितहरूको सेवा सम्भव भएको भन्दै सहयोगी दाताहरू, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी र सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि मानवसेवाका यस्ता कार्यमा साथ दिन सबैसँग अनुरोध गरे।




