वीरगञ्ज । सार्वजनिक विद्यालयमा स्थायी शिक्षक भएर पनि निजी शैक्षिक संस्थाको संयोजकको रूपमा खुलेआम प्रचारमा संलग्न भएपछि वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुरका शिक्षक लक्ष्मण यादव विवादमा तानिएका छन्।
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत यादवले निजी विद्यालयको छात्रवृत्ति कार्यक्रममा आफू संयोजक रहेको संस्थालाई “गुणस्तरीय” भनेर प्रचार गरेपछि नगर प्रमुखसमक्षै प्रश्न उठेको हो।
शुक्रवार वीरगञ्जमा आयोजित सो कार्यक्रममा यादवले आफ्नो निजी संस्थालाई वीरगञ्जकै उत्कृष्ट स्कुल भन्दै प्रस्तुत गरे। तर, सोही कार्यक्रममै सहभागी भएका महानगर प्रमुख राजेशमान सिंहले शिक्षक यादवप्रति तीव्र असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिए।
“सरकारको तलब खाएर निजी संस्थाको स्तुति गर्नु लाजमर्दो हो,” प्रमुख सिंहले भने, “यदि तपाईंले आफ्नै सरकारी विद्यालयको गुणस्तरको बारेमा गर्व गरेको भए म तपाईंसँग सहमत हुन सक्थे।”
सिंहको निर्देशनपछि शैक्षिक प्रशासन महाशाखाले यादवलाई पाँच दिनभित्र स्पष्टिकरण बुझाउन लेखी पत्र पठाएको छ। महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार, निजी संस्थाको जिम्मेवारी सम्हाल्नु र त्यसको प्रचार गर्नु सेवाशर्त विपरीत भएकाले कारबाही प्रक्रिया अघि बढाइएको हो।
अब यादवको जवाफको आधारमा थप कारबाहीको निर्णय लिइने महाशाखाले जनाएको छ।
यो घटना सामुदायिक शिक्षकको आचरण, जिम्मेवारी र निष्पक्षता कत्तिको हुनुपर्छ भन्ने बहसलाई पुनः चर्काएको छ।






