वीरगन्ज । नेपालको संविधानले शिक्षा अधिकारलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरे पनि आजसम्म यमुनामाई गाउँपालिका शिक्षा क्षेत्रमा धेरै पछाडि छ। विद्यालयका भवन छन्, बोर्ड छन्, पाठ्यपुस्तकहरू पनि यदाकदा आउँछन्, तर शिक्षा भने गन्तव्यबाट धेरै टाढा छ।
म बि.स २०८० मा उच्च शिक्षाको अध्ययन गर्न जापान आए पनि मेरो मन सधैं जन्मभूमि रौतहटकै शिक्षा अवस्थाप्रति चिन्तित रहन्छ। मैले प्राप्त गरिरहेको अवसर हरेक बालबालिकाले पाउनुपर्छ भन्ने सोचका साथ यो लेख लेख्दैछु।
सबैभन्दा पहिलो कुरा शिक्षा हाम्रो स्थानीय सरकारको प्राथमिकतामा छैन। गाउँपालिकाले सडक, भवन, मेला, भत्ता, र चाकडी गर्नेलाई सुविधा दिन त चाँडै बजेट निकाल्छ, तर शिक्षालाई ‘खर्च होइन, लगानी’ भनेर बुझ्ने प्रयास गर्दैन।
विद्यालयमा जानुपर्ने शिक्षकहरू नियमित छैनन्। कतै पद रिक्त छन् भने कतै शिक्षक छन् तर कक्षामा हुँदैनन्। अनुगमन गर्ने संयन्त्र छैन, शैक्षिक नतिजाको विश्लेषण हुने परम्परा छैन, र दोषीलाई जवाफदेही बनाउने चलन छैन।
आधुनिक युगमा पनि हाम्रो पाठ्यक्रम पुरानै शैलीमा अडिएको छ। विद्यार्थीहरू अंग्रेजी बोल्न सक्दैनन्, कम्प्युटर चलाउन जान्दैनन्, न त जीवनोपयोगी सीप सिकाइन्छ। बालबालिकाहरू पास त हुन्छन्, तर भविष्यका लागि तयार हुँदैनन्।
शिक्षा र चेतनाको कमीले गर्दा अभिभावकहरू पनि यो समस्यामा उतिकै दोषी छन्। धेरैले छोराछोरीलाई कमाइधन्दातिर लगाउँछन्, विशेष गरी गरिब, दलित, र सीमान्तकृत वर्गका बालबालिका अझै विद्यालय जान पाउँदैनन्।
हामीले यस्ता विद्यालयहरू देखेका छौं जहाँ शौचालय छ तर ब्यवस्थित छैन , खानेपानी को राम्रो ब्यवस्था छैन, पुस्तक ढिलो आउँछ, तर नेता आउँदा ‘टिका’ छिटो लाग्छ। यही हो यमुनामाई गाउँपालिकाको शिक्षा अवस्था।
शिक्षा कुनै पार्टीको घोषणापत्रको विषय होइन, यो हाम्रो पुस्ताको भविष्यको कुरा हो। अहिले सुधार गरिएन भने, हाम्रा छोराछोरीले पनि हाम्रो जस्तै गुनासो गर्ने छन् यमुनामाईमा शिक्षा किन पछाडि छ?
लेखक: राजु महतो (नुनिया)
युवा समाजसेवी / हाल जापानमा उच्च शिक्षामा अध्ययनरत
स्थायी ठेगाना: यमुनामाई गाउँपालिका–१, जेठरहिया, रौतहट






