Categories शिक्षा समाचार

प्रधानाध्यापकको नेतृत्व र बिदाको उपयोगले सिद्धार्थ विद्यालयमा देखिएको नयाँ प्रगति

Advertisement

वीरगञ्ज । श्री सिद्धार्थ माध्यमिक विद्यालय, वीरगञ्जले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको छ। विद्यालयका प्रधानाध्यापक विनोद मेहताको नेतृत्व र सक्रिय पहलका कारण विद्यालयको भौतिक तथा शैक्षिक स्वरूपमा महत्वपूर्ण सुधार भएको बताइन्छ।

गर्मी बिदाको २०–२१ दिनलाई सदुपयोग गर्दै मेहताले विद्यालयमा अव्यवस्थित कार्यालय, कक्षाकोठा, स्टाफ रुम, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला लगायतका पूर्वाधारलाई व्यवस्थित पारेका छन्। वर्षौँदेखि प्रयोगबिहीन अवस्थामा रहेका कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालालाई पुनः सञ्चालनमा ल्याउनु उनको महत्वपूर्ण उपलब्धिमध्ये एक हो। साथै, विद्यालयमा फर्निचर मर्मत, नयाँ विद्युतीय लाइन जडान, रंगरोगन लगायतका कार्य जारी रहेको छ।

Advertisement

विद्यालयको व्यवस्थापनलाई पारदर्शी बनाउन प्रधानाध्यापक मेहताले विद्यालय कार्यालयमा व्यवस्थापन समितिको नामावली, विगतका प्रधानाध्यापकहरूको नामावली, प्रत्येक कक्षामा रहेका विद्यार्थीहरूको संख्या, हाल कार्यरत शिक्षक–शिक्षिकाको नामावलीसहितको सूचना फ्लेक्स झुण्ड्याएका छन्। यसले विद्यालय सञ्चालनमा पारदर्शिता र जिम्मेवारी बढाएको अभिभावकहरूको भनाइ छ।

Advertisement

करीब १२ महिना अघि प्रधानाध्यापक बनेर विद्यालयमा आएका मेहताले शैक्षिक क्रियाकलापलाई नियमित र व्यवस्थित गर्न विशेष ध्यान दिएका छन्। नियमित कक्षा सञ्चालन, विद्यार्थीहरूको उपस्थिति र अनुशासन सुधार, शिक्षक–शिक्षिकाको कार्यक्षमता अभिवृद्धिमा समेत उनले जोड दिएका छन्।

विद्यालयलाई व्यवस्थित बनाउने क्रममा खर्च भएको सम्पूर्ण रकम चन्दा र स्थानीय सहयोगबाट व्यवस्थापन भएको मेहताले दाबी गरेका छन्। “हामीले उपलब्ध साधन स्रोतलाई सदुपयोग गर्दै, समुदायलाई पनि विद्यालय सुधार अभियानमा सहभागी गराएका छौं,” उनले बताए।

एसईई ‘मोका’ परीक्षामा खटेका त्यहीँका शिक्षक बुधबार विद्यालय पुग्दा भएको रुपान्तरण देखेर आश्चर्यचकित भएका थिए। उनीहरूका अनुसार, विगतमा अव्यवस्थित रहेको विद्यालय आज व्यवस्थापन र पूर्वाधार सुधारमा उदाहरणीय बन्न थालेको छ।

शिक्षकहरूले स्मरण गरे अनुसार, यस विद्यालयमा शिक्षक–शिक्षिकाहरू बस्ने निश्चित ठाउँ समेत नहुँदा कठिनाइ हुन्थ्यो। तर, मेहता आएपछि शिक्षक–शिक्षिकाको लागि छुट्टै कोठा, आवश्यक सामग्री र सुविधा उपलब्ध गराइएको छ।

विद्यालय सुधारका यी प्रयासले विद्यार्थीहरूको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । स्थानीयवासी र विद्यालयसँग नजिकका व्यक्तिहरूका अनुसार, मेहताको नेतृत्वमा विद्यालयले छोटो समयमा चौतर्फी विकासको बाटो लिएको छ र यो निरन्तरता रहे विद्यालय नजिकैका सामुदायिक विद्यालयहरूका लागि समेत अनुकरणीय बन्ने निश्चित छ।

Advertisement
Advertisement
Advertisement

1 comment

Sahil ansari says:

Our school principal is best principle we call are feeling proud with him he is best principle in siddharth history

Leave a Reply

Your email address will not be published. Required fields are marked *