वीरगन्ज । वीरगन्ज महानगरपालिका–२४ निवासी विजय पटेल, फिल्म क्षेत्रमा ‘विजय टाइसेन’ नामले चिनिन्छन्। करिब १५ वर्षदेखि निरन्तर संघर्ष गर्दै आएका टाइसेन प्रारम्भिक दिनमा फाइटरको भूमिकामा देखिएका थिए भने अहिले सफल अभिनेता बनेका छन्।
उनले ‘मिशन चाइना’, ‘वन म्यान आर्मी’, ‘जय शम्भु’, ‘माही’, ‘हिरोगिरी’, ‘जान कहे बनगइलु’, ‘टिम ४’, ‘जब प्यार किया तो डरना क्या’ जस्ता भोजपुरी र नेपाली फिल्ममा अभिनय गरिसकेका छन्। अभिनयसँगै उनी ‘एक्सन मुभिज प्रोडक्सन’का सञ्चालकसमेत हुन्।
२०७१/७२ सालतिर आफ्नै अभिनय कक्षा सञ्चालन गरेका टाइसेनले दक्षिण भारतीय, भोजपुरी र नेपाली कलाकारहरूसँग पनि काम गरिसकेका छन्। बीचमा केही व्यक्तिगत समस्या तथा अन्य कारणले गर्दा उनले नेपाली र भोजपुरी फिल्महरूलाई बेवास्ता गरेका थिए। तर अहिले पुनः निरन्तर रूपमा फिल्म क्षेत्रमा सक्रिय रहने उनको लक्ष्य छ।
फिल्म क्षेत्रमा पुग्न उनले धेरै संघर्ष र दुःख–पिडा बेहोरेका छन्। अहिलेको सफल यात्राले फाइटरबाट अभिनेता हुँदै आफ्नो छुट्टै पहिचान बनाउन उनी सफल भएका छन्।
उनी अहिले नयाँ फिल्मका लागि शरीर बनाउँदै तयारीमा जुटेका छन्। उनको मेहनत, संघर्ष र निरन्तरता हेर्दा कुनै पनि बलिउड अभिनेताभन्दा कम छैनन्। वीरगन्जवासी विजय टाइसेन आज स्थानिय समुदायका लागि गौरव र शान बनेका छन्।






