Categories समाचार

वीरगञ्जमा प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा नेपाल–भारतका बुद्धिजीवी र राजनीतिज्ञहरूको जमघट

Advertisement

वीरगञ्ज । नेपाली काँग्रेसका प्रखर नेता, समाजवादी चिन्तक, र सीमापार ऐक्यबद्धताका पक्षधर स्वर्गीय प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा वीरगञ्जमा नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीवीहरूको जमघट हुने भएको छ ।

प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) ले भदौ ७ गते वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजना गर्न लागेको ‘उत्साह र सङ्घर्षको आलोकमा: प्रदीप गिरिको सम्झना’ शीर्षकको गोष्ठीमा दुवै देशका प्रख्यात व्यक्तित्वहरू सहभागी हुन लागेका हुन् ।

Advertisement

वीरगञ्जमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पीजीआईका अध्यक्ष कञ्चन झाले कार्यक्रमबारे जानकारी दिँदै गोष्ठीले स्व. प्रदीप गिरिको जीवन, विचार, र उनले अङ्गालेका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यबद्धतामाथि गहन छलफल गर्ने बताए ।

Advertisement

“यो कार्यक्रम स्व. गिरिका घनिष्ठ मित्रहरू, राजनीतिक सहकर्मीहरू, र दुवै देशका प्रशंसकहरूलाई उनको विरासत सम्झन, उनले चासो राखेका मुद्दाहरूमाथि चिन्तन गर्न, र ती विचारलाई अघि बढाउन एकजुट बनाउने अवसर हो,” झाले भने, “प्रदीप गिरिका विचारहरूले नेपाल र भारतको सांस्कृतिक, सामाजिक, र आर्थिक सम्बन्धलाई जोड्ने सेतुको काम गरेका छन् । गोष्ठीले उनको दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गर्नेछ ।”

कार्यक्रम बिहान १०:३० बजेदेखि सुरु हुनेछ र उद्घाटन सत्रमा स्व. गिरिका परिवारका सदस्यहरू, पूर्व उद्योग मन्त्री रमेश रिजाल, र नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रूङ्गटाले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि तीन वटा सत्रहरूमा स्व. गिरिका बहुआयामिक व्यक्तित्व र विचारमाथि छलफल हुनेछ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *