वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न भाद्र ६ गते बिहान ७:३० बजे छनौट परीक्षा सञ्चालन गर्ने भएको छ।
आवेदन भरेका विद्यार्थीले भाद्र २ गतेपछि महानगरको वेबसाइट (scholarship.birgunjmun.gov.np) बाट प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्नुपर्नेछ। प्रवेशपत्रमा परीक्षा केन्द्रको विवरण रहनेछ र प्रवेशपत्र बिना परीक्षामा सहभागी हुन पाइनै छैन।
यसअघि महानगरले साउन १ देखि १५ गतेसम्म अनलाइन आवेदन खुला गरेको थियो। कक्षा ९ का लागि बीइईमा र कक्षा ११ का लागि एसईईमा न्यूनतम १.६ जिपिए प्राप्त गरेको हुनुपर्ने, साथै आवश्यक प्रमाणपत्रहरू अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
महानगरले छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई उच्च शिक्षा प्राप्तिमा सहयोग पुर्याउने लक्ष्य राखेको जनाएको छ।






