Categories रासस

पार्किङका सवारीसाधनमा पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहका चार पक्राउ

भक्तपुर l विभिन्न ठाउँमा पार्किङ गरिरहेको विभिन्न सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले आज पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित एउटा इँटाभट्टामा रोकी राखेको निसान ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले गिरोहका चार जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ पर्नेमा बसका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–११ घर भई हाल च्यामासिंह बस्ने ३२ वर्षीय सरोज सुनार, बसको सहचालक चाँगुनारायण–७ बागेश्वरी बस्ने ३२ वर्षीय अमीर लामा, सूर्यविनायक नगरपालिका–७ बस्ने २७ वर्षीय सुमन तामाङ र काठमाडौँ थानकोट घर भई हाल च्यामासिंह बस्ने २७ वर्षीया पूर्णिमा महर्जन रहेका प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Advertisement

बा४ख ४२८० नम्बरको बसमा आएका चोरी गर्ने गिरोहले ४० लिटर डिजेल चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ केही व्यक्तिले कुटपिट गर्दा तीन जना घाइते भएका थिए । घाइतेको भक्तपुर अस्पतलमा उपचार गरी प्रहरी हिरासतमा लगिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । चोरीमा संलग्न रहेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर राखेका चार जनालाई प्रहरीले हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरीले जानकारी दिएको छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *