वीरगन्ज l वीरगन्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको संख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।वीरगन्ज कारागारको क्षमता ७ सय ३० जना कैदीबन्दी राख्ने भएता पनि अहिले कारागारमा १ हजार ३१० जनाभन्दा बढी कैदीबन्दी रहेका छन् ।
वीरगन्ज कारागाका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ । विसं २०२९ देखि वीरगन्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ । पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगन्जको चिनी मिल क्षेत्रमा रहेको १८ बिघा क्षेत्रफल जग्गामा कारागार सार्ने योजना गरे पनि अहिलेसम्म त्यसले मूर्तरूप लिनसकेको छैन । वीरगन्ज कारागारमा स्वदेशी र विदेशी गरेर थुनुवा र कैदी गरेर १ हजार ३१० जना रहेका छन् । यसमा स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र ६ वर्षमुनिका दुई जना आश्रित बालिका छन् ।
त्यस्तै स्वदेशी पुरुष कैदी र थुनुवाको सङ्ख्या भने एक हजार ४६ जना रहेका छन् । त्यस्तै विदेशी थुनुवा र कैदीतर्फ एक सय ९९ छन् भने विदेशी महिला थुनुवा र कैदी भने १६ जना रहेका छन् ।
वीरगन्ज कारागारमा विशेषगरी पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका र अदालतबाट पुर्पक्ष थुनुवामा पठाएकालाई कैदी र थुनुवा राख्ने गरिन्छ । वीरगन्ज कारागारमा कैदी तीन सय २९ जना रहेका छन् भने थुनुवा ९ सय ७९ जना छन् ।
कारागार प्रमुख भुसालले कारागारमा रहेका कैदी तथा थुनुवामा कहिलेकाहीँ मौसमी प्रकृतिका बिरामी देखापर्ने बताए । “यहाँका थुनुवा तथा कैदीबन्दीमा प्रायःजसो मौसमी प्रकृतिका बिरामी देखा पर्छन्”, उनले भने, “सामान्य खालका उपचार यहाँ कार्यरत स्वास्थ्य सहायकले गर्नुहुन्छ भने अन्य बिरामीलाई भने नारायणी अस्पतालमा उपचारको लागि पठाइन्छ ।” कारागार परिसरमा करिब ४७ शौचालय रहेका छन् भने थुनुवा र कैदीले आलोपालो शौच गर्नुपर्ने बाध्यता छ । रासस






