भोजपुरी चित्रकलाको दशा र दिशा
बिरगंज l समान्य बुझाईमा भाषा भनेको संचारको माध्यम हो तर गहिरिएर हेर्ने हो भने भाषा खाली संचारको माध्यम मात्र नभएर समाजको भुगोल र इतिहाससंग जोडिएर आएको हुन्छन् । भाषाभित्र समाजका विभिन्न पक्षहरु निर्माण हुने गर्दछ । भाषाभित्र संस्कृति, गीत, संगीत, नाटक, चित्रकला, खानपिन, रहनसहन, बोलीबचन, भेषभुषा, चाडपर्व, रितिरिवाज तथा पेशा इत्यादी पक्षहरु मिलेर रहेका हुन्छन् ।
नेपालको सांस्कृतिक विविधतामा भोजपुरी समुदायको अमूल्य योगदान रहेको छ । यस समुदायले आफ्नो परम्परा, भाषा, संगीत र कलाका विभिन्न आयामहरू मार्फत आफ्नो पहिचान कायम राखेको छ । यो कलाले स्थानीय संस्कृति, धार्मिक विश्वास र सामाजिक जीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ । यही सांस्कृतिक बहुआयामिकताको एक महत्वपूर्ण हिस्सा हो “भोजपुरी चित्रकला”। यो चित्रकला केवल कलाको एउटा माध्यम मात्र नभएर भोजपुरी जीवनशैली, विश्वास, र इतिहासको जीवन्त प्रतिबिम्ब पनि हो ।
ऐतिहासिक पृष्ठभूमि
भोजपुरी चित्रकलाको इतिहास धेरै पुरानो छ । यसको उत्पत्ति कहिले भयो भन्ने स्पष्ट प्रमाण नभए पनि यो लोककला पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएको छ । भोजपुरी चित्रकलाको उत्पत्ति मुख्यतया नेपालको तराई र भारतको बिहार–उत्तर प्रदेश क्षेत्रमा केन्द्रित भोजपुरीभाषी समुदायमा भएको मानिन्छ । यो कलाको इतिहास सतयुगका पौराणिक कथाहरूसँग जोडिएको छ । प्रारम्भमा यी चित्रहरू देवी–देवताका मन्दिर, घरका भित्ता, र सामाजिक अनुष्ठानहरूमा प्रयोग गरिन्थ्यो । समयको प्रवाहमा यो कला घरायसी जीवन, उत्सव, र प्रकृतिको सुन्दरतासँग जोडिएर विकसित भएको हो ।

भोजपुरी भाषा बोल्ने समुदायको मुख्य पेशा खेतीपाती र रहन सहन समान्य माटोको घरमा हुने गरेकोले भोजपुरी चित्रकला खास गरेर माटोको घरहरुका भित्तामा, मन्दिरहरु तथा सार्वजनिक स्थलका भित्तामा समेत बनाउने गरिन्छ । समयसँगै यो कला कागज र कपडामा पनि बनाउन थालियो ।
विशेषता र प्रविधि
भोजपुरी चित्रकलाको प्रमुख विशेषता यसको जीवन्त रंग र ज्यामितीय पैटर्न हो । यसमा प्रकृतिको रंगहरू—हरियो, रातो, पहेंलो, निलो—प्राकृतिक स्रोतहरूबाट नै निकालिएका हुन्छन् । उदाहरणका लागि हल्दीबाट पहेंलो, पालुवाबाट हरियो र माटोबाट गहिरो रातो रंग तयार गरिन्छ । चित्रकलामा स्थानीय ब्रुस, कपासका टुक्रा वा हातले बनेका कागजहरू प्रयोग गरिन्छ । भोजपुरी चित्रकला भोजपुरी क्षेत्रमा बनाउने बिभिन्न चाडपर्वहरुका विभिन्न गोबर, खाद्यसमाग्री (चामल, दाल, धान, गेहु) माटो, काठ र ढुंगा जस्ता ग्रामीण भेगमा उपलब्ध समाग्रीहरु प्रयोग गरेर समेत भोजपुरी चित्रकला बनाउने गरिन्छ ।

भोजपुरी चित्रकलाको मुख्य विषयवस्तु धार्मिक कथाहरू, पौराणिक पात्रहरू, र दैनिक जीवनका दृश्यहरू बनाइन्छ । चित्रहरूमा धार्मिक प्रतीकहरू (जस्तै राम, सीता, कृष्ण), प्रकृति (मयुर, हात्ती, कमल) र दैनिक जीवनका दृश्यहरू (खेती, विवाह, नाचगान, डोमकच) बनाउने गरिन्छन् । प्रत्येक चित्रको पछाडि एउटा कथा वा संदेश हुन्छ, जसले समाजमा नैतिकता, एकता, र आस्थाको संदेश दिन्छ ।
सांस्कृतिक महत्व
भोजपुरी चित्रकला केवल सजावटको साधन मात्र होइन । यो समुदायको सामुहिक स्मृति र आध्यात्मिक अभिव्यक्ति पनि हो । विशेष गरी विवाह, छठ, तिहार, दशैं र जनैपूर्णिमा जस्ता चाडमा यी चित्रहरूले विशेष स्थान पाउँछन् । उदाहरणका लागि कोही बर र बधूको जीवनलाई आशीर्वाद दिन “सौभाग्यवती” चित्र बनाइन्छ भने छठमा सूर्यदेवताको आराधनालाई केन्द्रित गरिएका चित्रहरू देख्न सकिन्छ ।

बिवाहमा दुलही पक्षका घरमा सजावटका रुपमा मयुर, फुलहरु, हाती, स्वस्तिक, दुलहीका डोलीका प्रतिकात्मक चित्रहरु बनाउने गरिन्छ । विवाहमा दुलही पक्षका घरमा पुजा गर्न बस्नका लागि विभिन्न रंगमा रंगिएका चामल प्रयोग गरी “चौका” चित्र बनाउने गरिन्छ । त्यसतै विवाहमा प्रयोग गरिने गाग्रीमा हल्दी र चंदनले धार्मिक र सांस्कृतिक चित्रहरु बनाउने गरिन्छ ।
आधुनिक अवस्था र संरक्षण आजभोलि आधुनिकता र डिजिटल युगले भोजपुरी चित्रकलालाई चुनौती दिँदै आएको छ । कम्पयुटरमा भएका विभिन्न स्फटवेयरका विकास तथा आर्टिफिसियल इन्टेलिजेन्स (ब्क्ष्० का विकासले गर्दा सम्पूर्ण चित्रकला क्षेत्रलाई नै ठूलो धक्का दिएको छ । ग्राफिक्स डिजाइनहरुद्वारा कम समय र कम लागतमा उत्कृष्ट अक्षर लेखन तथा निर्माण गरी विभिन्न बस्तुहरुमा बनाउने गरिएकाले पारम्परिक चित्रकलामा युवा पिढीहरुका रुचि घट्दै गरेको देखिन्छ ।
युवा पुस्ताको रुचि यसमा घट्दो गए पनि, केही स्थानीय कलाकारहरूले यसलाई जिउँदै राख्न प्रयासरत छन् । प्राकृतिकका यर्थात चित्रभन्दा फरक मानव मस्तिस्कद्वारा सिर्जनात्मक तरिकाले विभिन्न अवस्थाहरु झल्किने चित्रहरु बनाउने गरिएकाले चित्रकलालाई जनसमुदायले अझै सम्मानका दृष्टिकोणले हेर्ने गरेका छन् । यही सम्भावनालाई ध्यानमा राखेर नेपाल र भारतका सांस्कृतिक संस्थाहरूले यस कलालाई संरक्षण गर्न प्रदर्शनी, कार्यशाला र प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिरहेका छन् । साथै, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन सामाजिक मिडिया र ई–कमर्सको प्रयोग पनि बढ्दै छ ।
संरक्षण तथा प्रर्वद्धनका प्रयासहरु
भोजपुरी चित्रकलाको प्रयाप्त संरक्षण तथा प्रर्वद्धनका कमीले गर्दा अरु भाषाभाषीहरुले समेत भोजपुरी चित्रकलालाई आफनो भाषा र समुदायका चित्रका रुपमा बताउने गरेका देखिन्छ । भोजपुरी चित्रकलाका प्रर्वद्धनका लागि नेपाल तथा भारतका भोजपुरी क्षेत्रबाट निम्न प्रयास गरेको देखिन्छ ।
१) आरा रेल्वे स्टेसनमा गरिएका आंदोलनः आरा स्टेसन तथा रेल्वेका डब्बाहरुमा भोजपुरी चित्रकला बनाई भोजपुरी चित्रकलाको संरक्षण तथा प्रर्वद्धन गर्नका लागी “भोजपुरी कला संरक्षण मोर्चा” ले ई.स. २०२१ मा निरन्तर १ हप्तासम्म आंदोलन गरेका थिए । फलस्वरुप त्यहाँका रेल्वे विभागले आरा रेल्वे स्टेसनमा भोजपुरी चित्रहरु बनाउन लगाई भोजपुरी चित्रकलालाई संरक्षण तथा प्रर्वद्धन गरेको देखिन्छ ।

२) कोरोनामा कलात्मक मास्क निर्माणः भारतका भोजपुरी चित्रकला प्रेमीहरुले कोरोना अवधिमा मानिसले मुख छोप्न लगाउने मास्कहरुमा विभिन्न भोजपुरी चित्रकलाहरु बनाई प्रचारपसार गरेका देखिन्छ । भोजपुरी चित्रकलालाई घरघरमा पुरयाउन यसले ठुलो सहयोग गरेको थियो ।


३) भारतका विभिन्न स्थानमा गरिने प्रदर्शन तथा तालिमहरुः भारतमा भोजपुरी जनसंख्या पनि ठुलो रहेकाले भोजपुरी चित्रकलाका संरक्षण तथा प्रर्वद्धनका लागि विभिन्न ठाउँहरुमा निरन्तर प्रदर्शनी, कार्यशाला तथा तालिमहरु समेत आयोजना हुने गरेका जानकारी भोजपुरी चित्रकलाका जानकार तथा कलाप्रेमी श्री नवीन पाण्डेय ज्यूले बताउनु हुन्छ । भोजपुरी चित्रकलालाई निरन्तर सम्वद्र्धन गर्दै गरेका भोजपुरी कलाप्रेमीहरु जगदीश चित्रांस, बाल्मिकी देवी, चम्पा देवी, चानो देवी, विनिता द्विवेदी, अनिता पाण्डेय, कौशलेश पाण्डेय लगायतका चित्रकला प्रेमीहरु रहेका छन् ।
३) भारतका विभिन्न स्थानमा गरिने प्रदर्शन तथा तालिमहरुः भारतमा भोजपुरी जनसंख्या पनि ठुलो रहेकाले भोजपुरी चित्रकलाका संरक्षण तथा प्रर्वद्धनका लागि विभिन्न ठाउँहरुमा निरन्तर प्रदर्शनी, कार्यशाला तथा तालिमहरु समेत आयोजना हुने गरेका जानकारी भोजपुरी चित्रकलाका जानकार तथा कलाप्रेमी श्री नवीन पाण्डेय ज्यूले बताउनु हुन्छ । भोजपुरी चित्रकलालाई निरन्तर सम्वद्र्धन गर्दै गरेका भोजपुरी कलाप्रेमीहरु जगदीश चित्रांस, बाल्मिकी देवी, चम्पा देवी, चानो देवी, विनिता द्विवेदी, अनिता पाण्डेय, कौशलेश पाण्डेय लगायतका चित्रकला प्रेमीहरु रहेका छन् ।


बच्चैदेखि चित्र बनाउदै गरेको तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफनो चित्रकलाहरु समेत प्रदर्शनी गरिसकेका वीरगंजका प्रसिद्ध कलाकार अजमत अलीले भोजपुरी चित्रकलाको विकासमा हुनुपर्ने कुरामा जोड दिदै गरेको छन् । नेपालको “ललितकला प्रज्ञा प्रतिष्ठान” मा प्राज्ञको रुपमा आवद्ध भएदेखि भोजपुरी चित्रकलाहरुलाई पहिचान तथा प्रवद्र्धन गर्न विभिन्न ठाउँमा स्थानीय कलाकारहरुलाई विभिन्न ठाउँमा चित्रकला कार्यशालाको आयोजना तथा निःशुल्क तालिम दिदै आएका छन् ।

भोजपुरी चित्रकला नेपालमा अन्य भाषा समुदायहरुका चेपुवामा रहेको र यसको पहिचानको लागि निकै सघर्ष भोग्नु परेको यर्थात अनुभव हालै जनकपुरमा “मैथिली साहित्व फेस्टिभल” मा चार वटा भोजपुरी चित्रकला प्रदर्शनी गरेपछि भोग्नुपरेको अनुभव मार्फत बताउनु भयो ।
निष्कर्ष
भोजपुरी एक भाषा मात्र नभएर पुरै संस्कृति हो । जसमा अलग गीत, संगीत, नाटक, चित्रकला, खानपिन, रहनसहन, बोलीबचन, भेषभुषा, चाडपर्व, रितिरिवाज, पेशा रहेका छन् । भोजपुरी भाषाको विकास साहित्य सिर्जनाले मात्र सम्भव हुन सक्दैन । भोजपुरी भाषाको संरक्षण तथा विकास गर्नु भनेको भोजपुरी गीत संगीत, भोजपुरी चित्रकला, भोजपुरी नाटक, भोजपुरी खानपिन, भोजपुरी रहनसहन, भोजपुरी भेषभुषा, भोजपुरी चाडपर्व, भोजपुरी रितिरिवाज तथा भोजपुरी पेशाहरु लगायतका समग्र आयामहरुका विकास गरे पछि भोजपुरीको सर्वाङ्घिन विकास हुनेछ ।
भोजपुरी चित्रकला भोजपुरी समुदायको गौरवशाली अतीत र सृजनात्मकताको प्रतीक हो । यसलाई संरक्षण गर्नु न केवल कलाको बचत हो तर एउटा पुस्ताको ज्ञान र भावना अर्को पुस्तासम्म पुग्न दिनु पनि हो । यसको संरक्षण तथा प्रवद्र्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, भोजपुरी भाषा तथा संस्कृति प्रेमी र कलाप्रेमीहरूको सहकार्य आवश्यक रहेका देखिन्छ र सवैजना मिलेर यो भोजपुरी सांस्कृतिक धरोहलाई संरक्षण गरी भविष्यसम्म बाँच्न दिनु पर्दछ ।

शिव संदेश [ वीरगंज, पर्सा ]






