वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले पब्लिक फिटनेस सेन्टरले समाजमा स्वास्थ्यप्रति जागरण ल्याउन गरेको प्रयास सराहनीय रहेको बताउनुभएको छ।
उहाँले क्लबले गर्ने आगामी कार्यक्रमका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै गाउँपालिकाले युवाका लागि नयाँ जिम क्लब स्थापना गर्ने र प्रशिक्षकको जिम्मेवारी संस्थापक अध्यक्ष करण यादवलाई दिने घोषणा समेत गर्नुभयो।

वीरगञ्जस्थित पब्लिक फिटनेस सेन्टर (PFC) मा बिहीबार सम्पन्न इन्क्लाइन ह्यामर स्ट्रेन्थ प्रेस प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी अध्यक्ष यादवले मन्तव्य राख्दै यसो बताएका हुन ।
५२ जनाले सहभागिता जनाएका प्रतियोगितामा वरिष्ठतर्फ बिशाल यादव प्रथम, अरुण साह द्वितीय र दिलीप महरा तृतीय बनेका छन् भने कनिष्ठतर्फ सुमित कुमार पटेल प्रथम, महेश्वर महतो द्वितीय र अभिषेक सर्राफ तृतीय भएका छन्।

विजेतालाई नगद, प्रोटिन पाउडर, सेकर बोतल र प्रमाणपत्र प्रदान गरिएको थियो। वरिष्ठ समूहका प्रथमलाई १० हजार रुपैयाँ र कनिष्ठ समूहका प्रथमलाई सात हजार रुपैयाँ नगदसहित अन्य उपहार प्रदान गरिएको हो।

सहभागी सबैलाई प्रमाणपत्र दिइएको आयोजकले जनाएको छ। प्रतियोगितामा निर्णायकको भूमिकामा आशिफ अन्सारी, खालिद हुसेन र अकलेस पटेल रहेका थिए।
कार्यक्रम संस्थापक अध्यक्ष करण यादवको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन अनिशकान्त कुशवाहाले गरेका थिए।

कार्यक्रममा नेपाल प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, रातोपानाका अध्यक्ष श्याम सर्राफ र स्ववियु सदस्य माला साह विशेष अतिथिका रूपमा उपस्थित थिए।







