Categories समाचार

वीरगंज महानगरमा सम्पदा संरक्षण समिति गठन, सबै धार्मिक स्थलहरु अनिवार्य सूचिकृत हुनुपर्ने

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण तथा व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने भएको छ। यसका लागि महानगरले विशेष सम्पदा व्यवस्थापन समिति गठन गरी काम प्रारम्भ गरेको हो।

महानगरले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित सम्पदा व्यवस्थापन सम्बन्धी ऐन नै निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। अब ३२ वटै वडामा रहेका सम्पूर्ण मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको अभिलेख संकलन गरी सूचिकृत गर्ने तयारी गरिएको छ।

Advertisement

यसका लागि प्रत्येक वडा कार्यालयमार्फत तथ्यांक संकलनको प्रक्रिया सुरु हुनेछ। अभिलेख संकलन कार्य सम्पन्न भएपछि सम्पदाहरूलाई अनिवार्य रूपमा सूचिकृत गरी संरक्षण र संवर्द्धनका लागि दीर्घकालीन कार्ययोजना अघि बढाइने महानगरले जनाएको छ।

Advertisement

समितिको संयोजक महानगर प्रमुख राजेशमान सिंह रहनु भएको छ। समितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा अध्यक्ष जगत साह कानु, प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्यका रूपमा रहेका छन् भने शाखा अधिकृत सुशीला देवकोटा सदस्य–सचिवको जिम्मेवारीमा नियुक्त भएकी छिन्। समितिका सदस्यहरूलाई आज एक औपचारिक कार्यक्रमकाबीच पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदान गरिएको छ।

महानगर प्रमुख सिंहका अनुसार धार्मिक सम्पदाहरू व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न अनिवार्य रूपमा सूचिकृत गरिनेछ। हाल महानगरभित्र रहेका कतिपय मठ–मन्दिर, मस्जिद तथा गुम्बाहरू व्यक्तिगत स्वार्थअनुसार मनपरी ढंगले सञ्चालन हुँदै आएको बताउँदै उहाँले अब ती सम्पदाहरूलाई नियमन गर्ने र श्रद्धालु भक्तजनहरूले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडाइका साथ प्रावधानहरू लागू गरिने जानकारी दिनुभयो।

सिंहले थप भन्नुभयो, “हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो। भक्तजनले गरेको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवर्द्धनमै खर्च हुने वातावरण सिर्जना गर्नुपर्छ।”

समितिले आगामी दिनमा प्रत्येक वडामा रहेका सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र त्यसका आधारमा संरक्षण तथा व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको दीर्घकालीन संरक्षण हुने अपेक्षा छ।

साथै यसले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमार्फत शहरको पहिचान सुरक्षित हुने विश्वास महानगरको रहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *