वीरगञ्ज । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज कुमार सिंहले हैजा उपचार गर्न सकिने रोग भएकाले ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्।
उनका अनुसार पखाला वा बान्ता देखा परेपछि घरमै बसिराख्नुको सट्टा तुरुन्तै अस्पताल पुगेर उपचार लिनु अत्यन्त जरुरी हुन्छ। “हैजा पूर्ण रूपमा उपचार योग्य रोग हो, तर ढिलाइ गरियो भने जटिलता बढ्छ,” डा. सिंहले बताए।
हैजाबाट बच्न खानपान र सरसफाइमा विशेष सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए। ताजा र राम्ररी पाकेको खाना मात्र खाने, बासी वा बिग्रिएको परिकार नखाने, खानेकुरा फोहोरबाट टाढा राख्ने, फलफूल–तरकारी राम्रोसँग धुने वा पकाएर मात्र खाने, पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने र वरिपरि सफा राख्ने उपाय अपनाउन उनले सुझाए।
उनका अनुसार बिरामीलाई समयमै अस्पताल ल्याइएमा हैजा पूर्ण रूपमा निको हुन्छ। “जनतामा आत्तिने होइन, सचेत रहने बानी बसाल्नु आवश्यक छ,” उनले भने।
यसबीच, वीरगञ्ज महानगरपालिकाले उच्च जोखिमका वडा नं. १ देखि १६ सम्मका घरधुरीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। विद्यालय कलेज बन्द गरी भीडभाड कम गरिएको छ भने सडक किनारमा पाइने पानीपुरी, चाट, भाजा जस्ता खाद्यवस्तु बिक्रीमा रोक लगाइएको छ।
मधेस प्रदेश सरकारले नारायणी अस्पताललाई आवश्यक औषधि र सामग्री उपलब्ध गराएको छ। संघीय स्वास्थ्य मन्त्रालयको टोलीले समेत प्रभावित क्षेत्र र अस्पतालमा स्थलगत अनुगमन थालेको छ। त्यस्तै, केन्द्रीय सुरक्षा समितिले चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले सात निर्णय गरेको छ। प्रभावित क्षेत्रमा माइकिङ र घरदैलो सचेतना अभियान, अस्पतालमा बिरामीलाई पहिलो प्राथमिकता, ‘डेडिकेटेड बेड’ छुट्याउने, थप स्वास्थ्यकर्मी खटाउने, बिदा रोक्ने, आवश्यक औषधि र शुद्धीकरण सामग्री सुनिश्चित गर्ने तथा प्रदेश–संघीय सरकारसँग सहकार्य गर्ने।






