Categories स्वास्थ्य

वीरगंजमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : औषधि वितरणमा सतर्कता

Advertisement

वीरगंज । हैजाको संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधीजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिनुभएको छ । उहाँले हैजालाई “हौवा” बनाएर व्यापार नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

नीजि अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै सिंहले सरकारले नै किट निशुल्क उपलब्ध गराउने स्पष्ट पार्नुभयो ।

Advertisement

वीरगंजमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रमुख सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिँदै, निजी स्वास्थ्य संस्थाले झाडापखाला जन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने बताए । महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र त्यहाँ आइसियुमा उपचाररत विरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी दिइयो ।

त्यसैगरी स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको स्पष्ट पार्नुभयो । “एउटा बिरामीमा हैजाको पुष्टि भइसकेपछि, त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण दोहोर्याइरहनु पर्दैन, बरु सीधा उपचारमा ध्यान दिनुपर्छ,” भन्दै उहाँले स्वास्थ्यकर्मीलाई उपचारमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

यसैबीच, वीरगंजमा फैलिएको हैजाको अवस्था प्रत्यक्ष अवलोकन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै हुनुहुन्छ । उहाँ दिउँसो २ बजे नारायणी अस्पताल पुग्ने कार्यक्रम रहेको छ । अस्पताल निरीक्षणपछि मन्त्री पौडेलले महानगर र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली हिजोदेखि नै वीरगंजमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि नजिकैबाट अनुगमन गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *