Categories स्वास्थ्य

झाडापखाला र हैजा फैलिन नदिन जिराभवानीको तयारी, स्वास्थ्य चौकीमै उपचार केन्द्र सञ्चालन हुने

वीरगन्ज । पर्सा जिल्लाका विभिन्न स्थानमा हैजा र झाडापखालाका बिरामी देखिन थालेपछि जिराभवानी गाउँपालिकाले जोखिम कम गर्न तत्काल कदम चाल्ने निर्णय गरेको छ।

मंगलबार बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले वडा नं. ४, सुपौलीस्थित स्वास्थ्य चौकीमै “झाडापखाला तथा हैजा उपचार केन्द्र” सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य शाखा प्रमुख अजय चौधरीका अनुसार औषधि, जनशक्ति र आवश्यक उपकरणहरूको व्यवस्था मिलाउन थालिएको छ।

Advertisement

बैठकले पालिकाभित्रका सबै स्वास्थ्यकर्मीलाई अति जरुरीबाहेक बिदा नदिने निर्णयसमेत गरेको छ। साथै, महिला स्वास्थ्य स्वयंसेविकालाई वडास्तरमै परिचालन गरी घरघर पुगेर सरुवाजन्य रोगबारे सचेतना फैलाउने जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए।

Advertisement

उनका अनुसार हैजा, झाडापखाला मात्र नभई डेंगुजस्ता रोगबाट बच्न आवश्यक सावधानीबारे पनि जनतालाई सचेत पारिने छ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतको सक्रिय सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *