वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हाल देखा परेका जापानीज इन्सेफलाइटिस र हैजाजस्ता रोगहरूको जोखिम कम गर्न बजार, पसल तथा पशु–पोल्ट्री फार्महरूमा अनुगमन अभियानलाई थप सशक्त बनाएको छ ।
महानगरको पशु सेवा शाखा, कृषि शाखा, खाद्य तथा गुण नियन्त्रण शाखा, वातावरण शाखा तथा महानगर प्रहरी बलको संयुक्त टोलीले मिना बजार, प्रतिमा चौक, सेकुवा गल्ली, पावर हाउस, श्रीपुर चौक र बसपार्क क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूको खाद्य सामग्रीको गुणस्तर, सुरक्षित भण्डारण, सरसफाइ अवस्था र म्याद परीक्षण गरी कडाइका साथ अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सेकुवा गल्लीस्थित जमुना होटलमा सडेगलेको मासु बरामद गरी तत्काल नष्ट गरिएको छ भने नमूना जफत गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ । त्यस्तै, बसपार्कस्थित रमेश होटलमा कुहिएको दही भेटिएपछि तत्काल नष्ट गरिएको महानगरले जनाएको छ ।
महानगरको पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्मा ले भने, “बजारमा उपभोक्ताले गुणस्तरीय र सुरक्षित खानेकुरा पाउनुपर्छ भन्ने उद्देश्यले यो अभियानलाई अझै कडाइका साथ अगाडि बढाइएको हो । स्वच्छता र सरसफाइप्रति बेवास्ता गर्ने व्यवसायीलाई कारबाहीबाट कुनै हालतमा छुट दिइने छैन,” भन्दै निरन्तर अनुगमन हुने जानकारी दिए ।


महानगरपालिकाले बिग्रिएका तथा म्याद गुज्रिएका खाद्य सामग्री तत्काल नष्ट गर्दै व्यवसायीलाई स्वच्छता र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । कमजोरी दोहोरिए जरिवाना तथा कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।


जनस्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राख्दै महानगरले बजार, पसल तथा विभिन्न फार्महरूमा निरन्तर अनुगमन र सचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।






