Categories समाचार

ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पर्सा अदालतमै सहलेखा पालका रूपमा हाजिर

Advertisement

पर्सा । पर्सा जिल्ला अदालतमा ज्यान मार्ने उद्योग मुद्दामा धरौटीमा छुटेका एक कर्मचारी पुनः त्यही अदालतमै सहलेखा पाल पदमा हाजिर भएका छन् ।

पकाहाँ मैनपुर गाउँपालिका–२ निवासी ३० वर्षीय अनिलकुमार कुशवाहा गत वैशाख ११ गते ७० हजार धरौटीमा छुटेका थिए । उनी भदौ ११ गते कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापबाट सरुवा भएर पर्सा जिल्ला अदालतको लेखा शाखामा सहलेखा पालका रूपमा उपस्थित भएका हुन् ।

Advertisement

स्थानीय हृदयनारायण महतोको जाहेरीका आधारमा कुशवाहासहित नौजनामाथि गत वैशाख ९ गते ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । घटनापछि फरार रहेका कुशवाहा अदालतमा उपस्थित भई धरौटीमा रिहा भएका थिए भन्ने विवरण धरौटीपत्रमा उल्लेख छ ।

Advertisement

कर्मचारी र कानुन व्यवसायीहरू भने यस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँछन् । उनीहरूको भनाइमा, गम्भीर मुद्दामा संलग्न व्यक्तिलाई न्यायिक निकायमै कार्यरत राख्दा अनुसन्धान र सुनुवाइको निष्पक्षतामा प्रश्न उठ्ने सम्भावना रहन्छ ।

कानुनविद्हरूका अनुसार धरौटीमा छुट्नु दोषमुक्त हुनु होइन, केवल थुनामुक्त हुनु हो । त्यसैले अदालतले यस किसिमका मामिलामा अझ बढी सतर्कता अपनाउनुपर्ने उनीहरूको जोड छ ।

तर, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार, कुशवाहाले लेखा शाखामा मात्र काम गर्ने भएकाले न्यायिक निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्न सक्दैनन् । त्यसैले उनको उपस्थितिले अदालतको निष्पक्षतामा फरक नपर्ने मल्लिकले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *