काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिन प्रस्थान गर्नुभएको छ।
उहाँ साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन र चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्न जाँदै हुनुहुन्छ। प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, शिक्षा तथा संस्कृति मन्त्रीहरू, सांसदहरू र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका छन्।
प्रधानमन्त्री ओली सम्मेलनमा विभिन्न मित्रराष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार राष्ट्र रहेको छ। भ्रमणको क्रममा प्रधानमन्त्री ओली सेप्टेम्बर ३ मा बेइजिङमा ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। उहाँ भदौ १८ गते स्वदेश फर्कनुहुनेछ।






