वीरगञ्ज । वीरगञ्जको गहवामाई मन्दिर नजिकैको दसैँ मेलामा मङ्गलवार राति युवाहरूको दुई समूहबिच भएको झडपमा एक युवकको ज्यान गएको छ ।
मृतकको पहिचान बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीका २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) को रूपमा भएको छ । उनी हाल वीरगञ्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका थिए र पेसाले ई–रिक्सा चालक थिए ।
प्रहरीका अनुसार, मङ्गलवार राति ११:४५ बजे माईस्थानबाट गीता मन्दिरतर्फ जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबिच विवाद भएको थियो । विवादले उग्र रूप लिँदा कुटपिट भएको र शीवममाथि बाँसको लट्टीले प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
गम्भीर घाइते भएका उनलाई नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले तत्कालै दश जना युवालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले घटना ‘ग्याङ फाइट’ नभई एक व्यक्तिलाई लक्षित गरी आक्रमण भएको बताए । दुवै समूहहरूबिच पुरानो रिसिइबिका कारण भएको झडपका क्रममा घटना भएको एसपी पाठकले बताए ।
“सुनियोजित आक्रमणजस्तो देखिन्छ । दश जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । त्यसमध्येबाट सबैको प्रत्यक्ष संलग्नता भने देखिएको छैन । हामी अनुसन्धान गरिरहेका छौँ । पोस्टमार्टम पश्चात् अझै जानकारी दिन सकिन्छ,” उनले भने । अनुसन्धान जारी रहेको कारण पक्राउ परेकाहरूको पहिचान खुलाउन नमिल्ने पनि उनले बताए ।
घटना गहवामाई मन्दिर नजिकै भएको हो । यस क्षेत्रमा दसैँ मेलाको अवसरमा प्रहरीको बाक्लो उपस्थिति रहने गरेको छ । यस्तो संवेदनशील स्थानमा भएको कुटपिट र एक युवकको मृत्युले पर्सा प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रहरीले वीरगञ्ज र जिल्लाको शान्ति–सुरक्षा कडा रहेको दाबी गरिरहेको बेला यस्तो घटना हुनुले प्रहरीको तयारी र सक्रियतामाथि नै आशङ्का उत्पन्न भएको छ । स्थानीय बासिन्दाहरूले प्रहरीको कमजोर उपस्थिति र समयमै कारबाही गर्न नसक्नुले यस्ता घटना बढिरहेको गुनासो गरेका छन् ।
मेला जस्तो भिडभाड हुने स्थानमा समेत यस्तो अपराध नियन्त्रण गर्न नसक्नुले जिल्लाको अन्य क्षेत्रमा बस्ने बासिन्दाहरूको सुरक्षाको चिन्ता थपिएको छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।




