Categories रासस

जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

Advertisement

काठमाडौँ । गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै हुनुहुन्थ्यो । माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उहाँलाई के थाहा ? तर भइदियो त्यस्तै ।

Advertisement

सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ । एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उहाँ हेर्नका लागि बाहिर निस्कनुभएको थियो । हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो । कताकताबाट आएको पेट्रोलसहितको आगो उहाँको शरीरमा सल्कियो । उहाँलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्‍याइयो । त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० लगियो ।

Advertisement

अहिले पनि उहाँ केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत हुनुहुन्छ । उहाँको शरीरको १८ प्रतिशत भाग जलेको छ । कम्मरमुनि र दायाँ हातमा बढी असर छ ।

Advertisement

अस्पतालको शय्यामा सुतिरहनुपर्दा उहाँमा पीडा थपिएको छ । घाउ चहर्‍याउँदा उहाँ घरीघरी चिच्याउनुहुन्छ ।

सबैभन्दा नरमाइलो त उहाँलाई दशैँमा भएको थियो । अस्पतालको बेडमै रहँदा दशैँको रौनक आयो, गयो । तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो । तर उहाँलाई चिकित्सकले निगरानीमै राखेको छ ।

“बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, मैले भने दशैँतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,” उहाँ भन्नुहुन्छ ।

यस्तो बेला उहाँलाई विगतका दशैँ र तिहराको झझल्को नआउने होइन । हरेक वर्ष उहाँ तिहारमा घर–पसल सजाउनुहुन्थ्यो । तिहारले बेग्लै खुसीयाली दिन्थ्यो । यसपालि भने उहाँको घर सजिएन । “मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,” उहाँ निराश हुँदै भन्नुहुन्छ, “डेढ महिना पुग्न लागिसक्यो । अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु ।”

उहाँ अस्पतालमा भएपछि पसल छोरा राहुलले रेखदेख गर्दै आउनुभएको छ । “छोरा विदेश जाने तयारीमा थियो । म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,” उहाँले सुनाउनुभयो ।

केएमसीकै हाई केयर युनिटमा हुनुहुन्छ, काभ्रेका २७ वर्षीय कमल घिमिरे । उहाँका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँदै हुनुहुन्छ । घिमिरेले पनि आमाबुबालाई सघाउँदै आउनुभएको थियो ।

दूध पुर्‍याउन सधैँझैँ भदौ २३ गते पनि उहाँ बानेश्वर आउनुभएको थियो । घर फर्किने बेलासम्म काठमाडौँको अवस्था असामान्य बनिसकेको थियो । बानेश्वर क्षेत्र तनावग्रस्त थियो । पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोलीसमेत चल्न थालिसकेको थियो । उहाँ यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिनुभएको थियो, गोली उहाँको छातीमा लाग्यो ।

काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्‍याएको छ । केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न सक्नुहुन्छ । “सरकारले स्वास्थ्य उपचार निःशुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नुपरेको र त्यो महँगो भएकाले हामीलाई निकै गाह्रो परिसक्यो,” कुरुवा बस्दै आउनुभएका काका प्राणनाथले भन्नुभयो, “छातीको दायाँ भागमा ठूलो घाउ छ । डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन् ।”

गोली लागेपछिका कठिन समय र शारीरिक पीडा त छँदै छ, तर यहीबीच आइपरेका महत्त्वपूर्ण चाड कमलले खुब ‘मिस’ गर्नुभएको छ । “अस्ति दशैँमा त मैले नै जसोतसो टीका लगाइदिएँ,” काका प्राणनाथ भन्नुहुन्छ, “यो तिहार भने उसको खल्लो होलाजस्तो छ । अस्पतालमा भाइटीका गर्न सजिलो छैन ।” कमलका एक जना बहिनी हुनुहुन्छ ।

पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले कहिले निको हुने टुङ्गो नभएको दिक्दारी कमलका काकाले पोख्नुभयो । “यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइलाग्यो । तिहारमै पनि अस्पतालकै बास भयो,” उहाँले भन्नुभयो, “डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुसी लाग्ने थियो ।” चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ ।

जेनजी आन्दोलनका घाइतेहरू काठमाडौँका अरु अस्पतालमा पनि हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा ३ जना, बि एन्ड बि अस्पतालमा १ जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररत हुनुहुन्छ । आन्दोनलमा घाइतेभइ उपचारका लागि २ हजार ५सय ७१ अस्पताल पुगेका थिए । रासस

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *