Categories समाचार

छठ पर्वले जगाएको चेतनालाई स्थायी बनाऔं : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिर्सिया नदीको समस्या छठ पर्वको समयमा मात्रै होइन, वर्षभर ध्यान दिनुपर्ने बताएका छन् ।

सिंहका अनुसार “डुब्दै गएपछि डाँडो सम्झने” उखानझैं सिर्सियाको व्यथा पनि नियतिको शिकार बन्दै गएको छ । उनले भने, “छठ आउँदा मात्रै हामीलाई सिर्सिया नदीको प्रदूषण सम्झना हुन्छ, अनि अर्को वर्ष छठ आउँदा मात्र फेरि प्रदूषण नियन्त्रणका कुरा, बहस र गाली गर्ने काम गर्छौं ।”

Advertisement

मेयर सिंहले पदभार सम्हालेको ४० महिनादेखि सिर्सिया सफाइका लागि निरन्तर आवाज उठाउँदै आएको बताएका छन् । “केवल कानूनी हैसियतबाट होइन, नैतिक जिम्मेवारी बोध गर्दै मैले केही उद्योगले नदीमा फोहोर फ्याँकेको भन्दै त्यहीँ उद्योगमा फोहर फ्याकेर प्रतिवादको रुपमा दबाब सिर्जना गरेको छु,” उनले स्मरण गरे ।

उनका अनुसार केही उद्योगको लापरवाहीका कारण सम्पूर्ण उद्योग समुदायले बदनामी भोग्नुपरेको वास्तविकता स्वीकार गर्नुपर्ने समय आएको छ । सिंहले भने, “अब सिर्सियालाई छठका बेला मात्रै होइन, सधैं सम्झनु पर्ने समय आएको छ ।”

छठ पर्वको अवसरमा सिर्सिया नदीको विषयमा युवाहरूले उठाएको चेतनाले आफूमा नयाँ उर्जा थपिएको महसुस गरेको उनले बताए । “अहिले जागेको चेतनालाई स्थायी बनाउन निरन्तर दबाब र सहभागिता आवश्यक छ,” मेयर सिंहले जोड दिए ।

उनले सिर्सिया सफाइ अभियानलाई पर्वसँग होइन, चेतनासँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “सिर्सिया सफा बनाउन महानगर मात्र होइन, सबैको साझा संकल्प, निरन्तर साथ र हातेमालो अपरिहार्य छ । यही सामूहिक प्रयासले मात्रै सिर्सिया पुनः जीवन्त बन्न सक्छ ।”

सिंहले अन्त्यमा सबैलाई आह्वान गर्दै भने, “आऊँ, हामी सबै एकढिक्का भई सिर्सिया नदीलाई पुनः जीवन्त बनाऔं ।”

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *