Categories समाचार

छठ पर्वले जगाएको चेतनालाई स्थायी बनाऔं : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिर्सिया नदीको समस्या छठ पर्वको समयमा मात्रै होइन, वर्षभर ध्यान दिनुपर्ने बताएका छन् ।

सिंहका अनुसार “डुब्दै गएपछि डाँडो सम्झने” उखानझैं सिर्सियाको व्यथा पनि नियतिको शिकार बन्दै गएको छ । उनले भने, “छठ आउँदा मात्रै हामीलाई सिर्सिया नदीको प्रदूषण सम्झना हुन्छ, अनि अर्को वर्ष छठ आउँदा मात्र फेरि प्रदूषण नियन्त्रणका कुरा, बहस र गाली गर्ने काम गर्छौं ।”

Advertisement

मेयर सिंहले पदभार सम्हालेको ४० महिनादेखि सिर्सिया सफाइका लागि निरन्तर आवाज उठाउँदै आएको बताएका छन् । “केवल कानूनी हैसियतबाट होइन, नैतिक जिम्मेवारी बोध गर्दै मैले केही उद्योगले नदीमा फोहोर फ्याँकेको भन्दै त्यहीँ उद्योगमा फोहर फ्याकेर प्रतिवादको रुपमा दबाब सिर्जना गरेको छु,” उनले स्मरण गरे ।

Advertisement

उनका अनुसार केही उद्योगको लापरवाहीका कारण सम्पूर्ण उद्योग समुदायले बदनामी भोग्नुपरेको वास्तविकता स्वीकार गर्नुपर्ने समय आएको छ । सिंहले भने, “अब सिर्सियालाई छठका बेला मात्रै होइन, सधैं सम्झनु पर्ने समय आएको छ ।”

छठ पर्वको अवसरमा सिर्सिया नदीको विषयमा युवाहरूले उठाएको चेतनाले आफूमा नयाँ उर्जा थपिएको महसुस गरेको उनले बताए । “अहिले जागेको चेतनालाई स्थायी बनाउन निरन्तर दबाब र सहभागिता आवश्यक छ,” मेयर सिंहले जोड दिए ।

उनले सिर्सिया सफाइ अभियानलाई पर्वसँग होइन, चेतनासँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “सिर्सिया सफा बनाउन महानगर मात्र होइन, सबैको साझा संकल्प, निरन्तर साथ र हातेमालो अपरिहार्य छ । यही सामूहिक प्रयासले मात्रै सिर्सिया पुनः जीवन्त बन्न सक्छ ।”

सिंहले अन्त्यमा सबैलाई आह्वान गर्दै भने, “आऊँ, हामी सबै एकढिक्का भई सिर्सिया नदीलाई पुनः जीवन्त बनाऔं ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *