वीरगंज । बारा–४ का निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले मंसिर ३ र ४ गते सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दे घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले घाइतेहरूको उपचारका लागि सरकारले आवश्यक व्यवस्था गर्न आग्रह समेत गरेका छन्।
पार्टी कामका सिलसिलामा काठमाडौं रहेको अवसरमा, मंसिर ६ गते श्रेष्ठको जितपुर–सिमरा उपमहानगरपालिका–४ औराहास्थित घरमा जेन–जीका नाममा आफूलाई नेता बताउँदै आएको सुदन गुरुङ नामका व्यक्तिले लुटपाट तथा गुण्डागर्दी शैलीमा प्रवेश गरेको श्रेष्ठको दाबी छ।
उनले २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका कामदारलाई धम्क्याएको र “किसान श्रेष्ठको घर फेरि जलाइदिन्छु, तेरो नेतालाई पनि जे पनि हुन सक्छ” भनेर धम्की दिएको घटनाको उनले कडा शब्दमा भर्त्सना गरेका छन्।
जेन–जी समूहका नाममा बढिरहेको ‘आतंक’ रोक्न तथा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन उनले नेपाल सरकार र स्थानीय सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
यस घटनासम्बन्धी आफ्नो धारणा तथा अपिल श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।






