बीएसएल–४ भव्य रूपमा सुरु, वीरगञ्ज खेलकुदमा फेरि उत्साहको लहर
वीरगञ्ज । वीरगञ्ज युथ्स स्पोर्ट्स एकेडेमीले आयोजना गरेको वीरगञ्ज सुपर लिग (बीएसएल)–४ आज नारायणी रङ्गशालामा आकर्षक समारोहसहित सुरु भएको छ।
उद्घाटन वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले गर्दै बीएसएल मधेसका युवाहरूका लागि “सपना र सम्भावनाको मञ्च” भएको टिप्पणी गरे। उनले नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने प्रतिबद्धतासमेत जनाए।
यस लिगले मधेसका दुर्गम गाउँबाट उदाएका प्रतिभालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै आएको उल्लेख गर्दै आयोजकले चौथो संस्करण अझ व्यवस्थित र प्रतिस्पर्धी बनेको जानकारी दिए।
उद्घाटन खेलमा ड्रागन अफ साहिब दरबार र अपन कालिकामाई आमनेसामने भए। खेलअघि आकर्षक मार्चपास र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतीले स्टेडियममा उत्सवमय माहोल बनेको थियो।






