Categories अर्थ समाचार

पर्सामा हुण्डीको १५ लाख रुपैयाँसहित एकजना पक्राउ

पर्सा । पर्सा प्रहरीले श्रोत नखुलेको १५ लाख रुपैयाँ रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले आज दिउँसो करिब १४:३० बजे पकाहामैनपुर–१ धोरे चेकपोस्टमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा मोटरसाइकलसहित रकम बरामद गरेको हो।

Advertisement

प्रहरीका अनुसार BR22AF4126 नम्बरको मोटरसाइकलमा सवार पकाहामैनपुर–१ का ३४ वर्षीय अवधेश पटेललाई शंका लागेपछि चेकजाँच गर्दा मोटरसाइकलको लेगगार्डमा लुकाइराखिएको ‘पंकज मसला’ लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा ठूलो परिमाणको नगद भेटिएको थियो।

Advertisement

बरामद गरिएको रकममा रू. १,०००, रू. ५००, रू. १००, रू. ५० र रू. २० का नोटसहित जम्मा रू. १५ लाख रहेको प्रहरीले जनाएको छ।

बरामद रकम तथा मोटरसाइकलसहित पटेललाई नियन्त्रणमा लिएर उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *