वीरगञ्ज । पर्सा जिल्लामा प्रहरीले २९ किलोग्राम गाँजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा जिराभवानी गाउँपालिका–५ शंकरसरैया स्थित बाँसबारी क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
मंसिर १३ गते राति करिब ९ बजे लागुऔषध ओसारपसार भइरहेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उक्त क्षेत्रको खोजतलास गरेको थियो। सोही क्रममा बाँसघारीभित्र प्लास्टिक र बोरा प्रयोग गरी लुकाइ–छिपाइ राखिएको अवस्थामा गाँजा जस्तो देखिने २९ किलोग्राम पदार्थ फेला परेको प्रहरीले बताएको छ।
उक्त लागुऔषध बोकेको अवस्थामा भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्लास्थित वेतीया अञ्चल, मुसहरी पञ्चायत–१३ का ६५ वर्षीय गामा विनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका विनलाई बरामद गाँजासहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।





