वीरगञ्ज । पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले मंसिर १५ गते दिउँसो करिब ३ बजेतिर पटेर्वासुगौली गाउँपालिका–२ रंगपुरमा चेकजाँचका क्रममा कार रोकेर तलासी लिँदा गाँजा फेला परेको हो।
मनवाबाट रंगपुरतर्फ जाँदै गरेको BAB ९३९८ नम्बरको मारुती सुजुकी कार जाँचका क्रममा प्लास्टिकका १० पोकामा १०४ किलो ३२५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। सोही कारमा सवार दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा चालक भिमफेदी ८ महाबिर टोल, मकवानपुर बस्ने ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुरगढी–१ आपटार, मकवानपुर बस्ने ३८ वर्षीय कुमार स्याङ्तान रहेेका छन् ।
बरामद गरिएको गाँजा, कार र पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रणसम्बन्धी मुद्दा दर्ता प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी राजु कार्कीले जानकारी दिएका छन्।





