बीरगंज । बीरगंज महानगरपालिका वडा नं. २८ बगहीमा कुकुरद्वारा ५ जना स्थानीयवासी घाइते बनेपछि महानगरको पशु सेवा शाखाले प्रहरी बलसहित घटनास्थलमा पुगेर आक्रामक कुकुरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको छ।
कुकुरलाई Anti-Rabies Vaccine लगाई महानगरकै कान्जी हाउसमा व्यवस्थित गरिएको महानगरले जनाएको छ।
घटनापछि टोलीले घाइतेहरूलाई भेटेर रेबीज रोगसम्बन्धी आवश्यक जानकारी, सावधानी तथा उपचार प्रक्रियाबारे सचेतना दिएको थियो। घाइतेहरूले रेबीज विरुद्धको खोप लगाइरहेको र यो अत्यन्तै अनिवार्य सुरक्षात्मक उपाय भएको शाखाले स्पष्ट पारेको छ।
महानगरपालिका पशु सेवा शाखाका अनुसार स्थानीयवासीको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी निरन्तर सेवा प्रदान गरिँदै आएको छ।
कुकुरले टोकेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा महानगरको पशु सेवा शाखामा सम्पर्क गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ।





