Categories खेलकुद समाचार

स्वास्थ्यदेखि संस्कृतिसम्म : “शंखधर शाख्व: पार्क” वीरगन्जको नयाँ पहिचान

वीरगन्ज । वीरगन्ज महानगरपालिका–४ मा रहेको ‘चिल्ड्रेन पार्क’ नयाँ नाम, नयाँ स्वरूप र आधुनिक सुविधासहित ‘शंखधर शाख्व: पार्क’को रूपमा पुनःसञ्चालन भएपछि नगरवासीको दैनिक जीवनमै नयाँ ऊर्जा थपिएको छ।

जेठ २५ गते औपचारिक रूपमा संचालनमा आएको यो पार्क अहिले व्यस्क तथा वृद्धवृद्धाका लागि बिहान–बेलुका हिँडडुल, योग तथा व्यायाम गर्न उपयुक्त स्थलका रूपमा र बालबालिकाका लागि सुरक्षित खेलकुद तथा मनोरञ्जन केन्द्रका रूपमा द्रुत गतिमा लोकप्रिय बन्दै गएको छ।

Advertisement

लामो समय बन्द रहेर उपेक्षित बनेको पार्कलाई महानगरपालिकाले १९ कट्ठाबाट विस्तार गरी करिब २ विघा क्षेत्रमा पुनःसंरचना गरेको हो। करिब १ करोड २५ लाख रुपैयाँ बराबरको लगानीमा पार्कको सौन्दर्यकरण, आधुनिक पूर्वाधार निर्माण र विविध मनोरञ्जनात्मक संरचनाहरू थपिएपछि यस स्थानले नयाँ रूप पाएको छ।

Advertisement

अहिले पार्कमा खुला मञ्च, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थल, बालबालिकाका खेल सामग्री, र बिहान–बेलुका ‘जॉगिङ’ गर्न मिल्ने ट्र्याकसहितका आकर्षक सुविधा उपलब्ध छन्।

‘चिल्ड्रेन पार्क’का रूपमा परिचित रहेको यो क्षेत्रलाई नेपालमा साझा अर्थतन्त्रको अवधारणा अघि सारेका समाजसेवी शंखधर शाख्व: को नाममा समर्पित गर्दै महानगरपालिकाले यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व अझै बढाएको बताउछ ।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले यसलाई केवल सौन्दर्यकरणको परियोजना नभई “समुदायको जीवनशैली, स्वास्थ्य र संस्कृतिलाई एकै ठाउँमा जोड्ने साझा केन्द्र” को रूपमा विकास गरिएको बताए। उनका अनुसार, “शंखधर शाख्व: पार्कलाई हामी वीरगन्जको सामूहिक जीवनशैली सुधार्ने, संस्कृतिलाई सम्मान गर्ने र समृद्ध नगर निर्माणतर्फ अघि बढाउने मुख्य आधारस्थल बनाउनेछौँ।”

सुरक्षाका लागि चारैतिर पर्खालले घेरिएको यो पार्क अहिले बिहान शारीरिक व्यायाम गर्ने वृद्धवृद्धादेखि बेलुका खेल्न आउने बालबालिकासम्मको साझा भेटस्थानको रूपमा व्यस्त देखिन थालेको छ। झिलमिल बत्तीले सजिएको सो पार्कमा विभिन्न पेन्टिङ, स्टेचु, घुम्ने बस्ने राम्रो व्यवस्थापन भएकोले परिवारसहित सांस्कृतिक गतिविधि तथा रमाइलो समय बिताउन इच्छुक नागरिकका लागि पनि यो पार्क उत्कृष्ट विकल्प बनेको छ।

महानगरपालिकाले यो पार्कलाई ‘साझा सम्पत्ति’ का रूपमा बुझ्दै नागरिक स्वयंले यसको संरक्षण र सदुपयोगमा योगदान दिने अपेक्षा व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *