वीरगंज । जेन–जेड आन्दोलनको आडमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाट गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भदौ २३ र २४ गते वीरगन्जका विभिन्न क्षेत्रमा भएको युवापुस्ता केन्द्रित आन्दोलनका क्रममा केही व्यक्तिहरूले आन्दोलनलाई हिंसात्मक बनाउँदै घर–सम्पत्तिमा आगजनी तथा तोडफोड गरेको भन्दै पीडितहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानकै क्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निजी निवासमा आगजनी गरेको अभियोगमा वीरगन्ज–१० रानीघाट निवासी रञ्जन सिंह राजपुत पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप पाठकका अनुसार नगरप्रमुख सिंहको परिवारले दर्ता गराएको किटानी जाहेरीका आधारमा बिहीबार बिहान राजपुतलाई नियन्त्रणमा लिइएको हो। भदौ २४ गते अपराह्न वडा नं. ३ मा रहेको नगरप्रमुखको निवासमा राजपुतसहितको समूहले आगजनी गरेको आरोप छ। उनी सहित १० जना भन्द बढी विरुद्ध घर जलाएको आरोपमा मुद्दा दायर छ ।
प्रहरीका अनुसार राजपुतको नेतृत्वमा रहेको भीडले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनुका साथै आगजनी गरी जनधनको सुरक्षामा गम्भीर जोखिम उत्पन्न गरेको देखिएकाले उनीमाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
यसैबीच, भदौ २४ गते वीरगन्जका विभिन्न स्थानमा भएको क्षतिको विषयमा थप उजुरीहरू समेत दर्ता भइसकेका छन्। ती उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।







