Categories समाचार

बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अत्याचार तत्काल रोक्न राष्ट्रिय समता पार्टी नेपालको माग

Advertisement

वीरगंज । राष्ट्रिय समता पार्टी नेपालले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेका दमन, आक्रमण तथा अमानवीय घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यस्ता घटनाहरू तत्काल रोक्न माग गरेको छ।

पार्टीको केन्द्रीय कार्य समितिले जारी गरेको विज्ञप्तिमा बंगलादेशमा पछिल्लो समय विशेषगरी हिन्दु अल्पसंख्यक समुदायलाई लक्षित गर्दै भइरहेका हिंसात्मक घटनाहरू बढ्दै गएकोप्रति गहिरो पीडा, आक्रोश र चिन्ता व्यक्त गरिएको छ। यस्ता घटनाले कुनै एक समुदाय मात्र होइन, सम्पूर्ण मानव सभ्यता, सहअस्तित्व र विश्व मानवीय संस्कृतिमाथि नै गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Advertisement

विज्ञप्तिमा राज्यको प्रमुख दायित्व आफ्ना नागरिकहरूको जीवन, मर्यादा, धार्मिक स्वतन्त्रता तथा सुरक्षाको संरक्षण गर्नु हो भन्ने उल्लेख गर्दै राज्य संयन्त्रको कमजोरी, मौनता वा उदासीनताका कारण कुनै समुदाय पटक–पटक लक्षित हुनु गम्भीर शासकीय असफलता तथा राष्ट्रधर्म (राजधर्म)को उल्लङ्घन भएको बताइएको छ।

Advertisement

बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि भइरहेका यस्ता घटनाले त्यहाँको शासन व्यवस्था, मानवअधिकारको अवस्था तथा अल्पसंख्यक संरक्षणप्रति अन्तर्राष्ट्रिय स्तरमै चिन्ता बढाएको पार्टीको ठहर छ।

धर्म, जात वा पहिचानको आधारमा हुने कुनै पनि प्रकारको हिंसा, दमन र अत्याचार सभ्य समाजका लागि अस्वीकार्य, निन्दनीय तथा आपराधिक भएको स्पष्ट पार्दै यस्ता घटनाप्रति मौन रहनु अन्यायलाई अप्रत्यक्ष रूपमा समर्थन गर्नु सरह हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

राष्ट्रिय समता पार्टी नेपालले बंगलादेशमा हिन्दु समुदायमाथि भएका सबै प्रकारका हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गर्दै पीडितहरूप्रति गहिरो समवेदना, ऐक्यबद्धता र समर्थन व्यक्त गरेको छ। साथै, बंगलादेश सरकारलाई दोषीहरूको पहिचान गरी निष्पक्ष, पारदर्शी तथा कडा कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस संरचनात्मक कदम चाल्न कडा माग गरिएको पार्टीका महासचिव डा. अभिषेक तिवारीले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *