वीरगञ्ज । बढ्दो प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयमा तीन दिन पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार पौष ७ गतेदेखि ९ गतेसम्म वर्षे सट्टे विदाबाट कट्टा हुने गरी सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको हो। अत्यधिक चिसो र प्रतिकूल मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले यो निर्णय गरिएको जनाइएको छ।
त्यसैगरी, शैक्षिक क्यालेन्डरअनुसार पौष ११ गते पहिले नै सट्टा विदा तोकिएकाले उक्त दिन पनि विद्यालय बन्द रहनेछ। महानगरपालिकाले पौष १३ गते आइतबारदेखि पूर्ववत् समयमा विद्यालय सञ्चालन हुने जानकारी समेत गराएको छ।
महाशाखाले सम्बन्धित सबै विद्यालय, अभिभावक तथा सरोकारवालालाई सूचनाअनुसार आवश्यक तयारी गर्न अनुरोध गरेको छ।






