वीरगञ्ज । नेपाल सरकारले क्षयरोग (टीबी) पहिचानका लागि उपलब्ध गराउँदै आएको Sputum for AFB परीक्षण पूर्ण रूपमा निःशुल्क हुँदाहुँदै वीरगञ्जस्थित सर्वोत्तम अस्पतालले बिरामीसँग शुल्क लिएर जाँच गराएको तथ्य सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार अस्पतालले एक जना बिरामीसँग पाँच सय रुपैयाँ शुल्क असुली Sputum for AFB परीक्षण गराएको हो। तर अस्पतालले आफैं परीक्षण नगरी बिरामीलाई अर्चिता डाइग्नोस्टिक सेन्टरमा पठाउने गरेको र बिल भने अस्पतालको नाममा काट्ने तथा जाँच रिपोर्ट सेन्टरको नामबाट जारी गर्ने गरिएको तथ्य बिल र रिपोर्टबाट प्रमाणित भएको छ।
यस विषयमा वीरगञ्ज महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका टीबी रोग फोकल पर्सन सुमनचन्द्र ठाकुरले Sputum for AFB जाँच पूर्ण रूपमा निःशुल्क रहेको स्पष्ट पारे। उनका अनुसार सरकारले तोकेका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा मात्रै यस्तो जाँच निःशुल्क हुने र निजी अस्पतालले शुल्क लिएर गराएको जाँचको रिपोर्टलाई मान्यता नदिइने व्यवस्था छ।
ठाकुरले निजी अस्पतालले शुल्क लिएर जाँच गर्नु नियमविपरीत कार्य भएको बताउँदै यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइने जानकारी दिए। उनले सेवाग्राहीलाई Sputum for AFB जाँचका लागि सरकारी अस्पताल वा तोकिएका स्वास्थ्य संस्थामै जान आग्रह गरे।
सरकारको निःशुल्क स्वास्थ्य सेवा हुँदाहुँदै निजी अस्पतालले शुल्क असुल्नु, बिल अस्पतालको नाममा काट्नु र रिपोर्ट फरक संस्थाको नामले दिनुले सेवाग्राहीलाई अन्योलमा पार्ने र आर्थिक शोषण हुने भन्दै सरोकारवालाहरूले तत्काल अनुगमन र कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।








