Categories राजनीति

नेपाली कांग्रेसभित्र चर्कियो विद्रोह, राकेश यादवको उम्मेदवारी प्रदेशद्वारा सिफारिस

Advertisement

वीरगञ्ज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि राकेश यादवको उम्मेदवारी पार्टीभित्र व्यापक चर्चा र संघर्षको विषय बनेको छ।

क्षेत्रीय तथा जिल्ला कार्य समितिबाट सिफारिस नपाएपछि उनले मधेश प्रदेश कार्य समितिसम्म निवेदन दर्ता गराउँदै आफ्नो उम्मेदवारी सुनिश्चित गराउन पहल गरेका हुन्।

Advertisement

यादवका अनुसार, आगामी फागुन २० गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उनले पार्टीको विधिसम्मत प्रक्रियाअनुसार उम्मेदवारीका लागि निवेदन दिएका थिए। तर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिबाट सिफारिस नपाएपछि उनी बाध्य भएर मधेश प्रदेश कार्य समिति समक्ष पुगेका थिए।

Advertisement

यादवले मधेश प्रदेश कार्य समिति कार्यालय, जनकपुरधाममा मौखिक तथा लिखित निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा उनको उम्मेदवारी सिफारिसबाट छुट भएको उल्लेख गर्दै नाम समावेश गरिदिन आग्रह गरिएको थियो।
प्रदेश कार्य समितिले सो निवेदनमाथि आवश्यक प्रक्रिया अगाडि बढाउँदै प्रदेश सभापति कृष्ण प्रसाद यादवको नेतृत्वमा उम्मेदवारी सिफारिस गर्ने निर्णय गरेको छ।

मधेश प्रदेश कार्य समितिले केन्द्रिय कार्य समिति, सानोठिमी भक्तपुरलाई पत्राचार गर्दै राकेश यादवको नाम उम्मेदवारी सिफारिसमा समावेश गरिदिन आग्रह गरेको छ।

यादवले भने, “नेपाली कांग्रेसभित्र मेरो उम्मेदवारीको विषयमा भएको संघर्ष र चर्चाबारे सबैजना अवगत नै हुनुहुन्छ। क्षेत्रीय र जिल्ला समितिबाट सिफारिस नपाएपछि मैले प्रदेश कार्य समितिमा निवेदन दर्ता गराएँ। प्रदेश सभापति कृष्ण प्रसाद यादवले मेरो निवेदनमाथि कार्यवाही अगाडि बढाउँदै उम्मेदवारी सिफारिस गरिदिनु भएको छ।”

पार्टीभित्रको आन्तरिक प्रक्रिया, दबाब र उजुरीका बाबजुद प्रदेश कार्य समितिबाट सिफारिस प्राप्त भएपछि राकेश यादवको उम्मेदवारी अब केन्द्रिय कार्य समितिको निर्णयमा निर्भर रहने देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *