वीरगंज । पर्सा जिल्लाका चार गाउँका एक हजार दलित तथा सीमान्तकृत बालबालिकालाई शैक्षिक तथा ट्युसन व्यवस्थापन सामग्री सहयोग गरिएको छ।
बोधिसत्वा बिहार, बुढानिलकण्ठ काठमाडौंको सहयोग, डा. पिया रत्न महर्जनको सहजीकरण तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा सामग्री वितरण गरिएको हो।
पर्सामा दलित समुदायका बालबालिकामा विद्यालय छोड्ने दर उच्च रहेकाले कापी–कलमको अभावमा पढाइ नछुटोस्, विद्यालय टिकाइ कायम होस् र गुणस्तरीय शिक्षा प्रवर्द्धन होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ कवौबन गाउँको मुसहर बस्ती, कटैयाको दलित बस्ती, वडा नं. ५ महुवन गाउँ तथा वीरगंज महानगरपालिका वडा नं. १९ केहुनिया बिन्दबासनी गाउँमा सञ्चालन भइरहेको निःशुल्क सामुदायिक ट्युसन तथा सिकाइ सुधार केन्द्रमा अध्ययनरत बालबालिकालाई कापी–कलम, चाउचाउ, चट्टी (फोम), कुर्सी र टेबुल वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि बोधिसत्वा बिहारका अध्यक्ष डा. पिया रत्न महर्जनले बालबालिकालाई आफ्नै हातबाट सामग्री वितरण गर्दै शिक्षा नै सामाजिक परिवर्तनको आधार भएको बताउनुभयो। कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालका पदाधिकारी तथा स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो।






