पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भावमा खलल पुर्याउने, धार्मिक तथा सांस्कृतिक द्वेष फैलाउने र झुट्टा अफवाहमार्फत कुनै समुदायको सामाजिक मानमर्दन गर्ने कार्यप्रति कडा निगरानी र कारबाही गर्ने जनाएको छ।
कार्यालयले आइतबार एक अपिल जारी गर्दै Facebook, TikTok, Instagram लगायत सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको खाताहरू सूक्ष्म रूपमा निगरानी भइरहेको जानकारी दिएको छ। यस्ता क्रियाकलापलाई गम्भीर रूपमा लिइ कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
अपिलमा उल्लेख गरिएअनुसार मुलुकी अपराध संहिता, २०७४ को धर्मसम्बन्धी कसूर अन्तर्गत धार्मिक स्थल वा पवित्र मानिएका स्थानमा क्षति पुर्याउने, अपवित्र बनाउने वा धार्मिक आस्थाको अपमान गर्ने कार्य दण्डनीय अपराध हो। यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। साथै, कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउने कार्य गरेमा दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवानाको प्रावधान रहेको जनाइएको छ।
त्यसैगरी, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत विद्युतीय माध्यममा गैरकानुनी सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध सामग्री प्रसारण गर्ने, घृणा वा द्वेष फैलाउने, जाति–सम्प्रदायबीचको सुमधुर सम्बन्ध बिगार्ने तथा महिलामाथि अमर्यादित व्यवहार गर्ने कार्यमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सबै नागरिकलाई कानुनको पालना गर्न, सामाजिक सद्भाव कायम राख्न र आपसी सहिष्णुता प्रवर्द्धन गर्न आग्रह गर्दै यस्ता गतिविधि नगर्न/नगराउन कडाइका साथ अनुरोध गरेको छ।








