वीरगञ्ज । पर्सा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेशलाई आज दिउँसो १ बजेसम्म निरन्तरता दिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार हिजो पुस २१ गते साँझ ६ बजेबाट लागू गरिएको कर्फ्यूलाई आज पुस २२ गते दिउँसो १ बजेसम्म कायम गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यू लागू गरिएको क्षेत्रको सीमाना पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक तथा दक्षिणमा शंकराचार्य गेट तोकिएको छ। उक्त क्षेत्रभित्र कुनै पनि प्रकारको आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू अवधिमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा बाहिर निस्कनु परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यद्यपि एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोग, पर्यटक सवारी साधन तथा हवाई टिकट भएका यात्रुहरूको आवागमनलाई भने सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।







