Categories समाचार

वीरगंज अशान्त बनाउनेमाथि कडा कारबाही माग गर्दै मेयर सिंहको प्रशासनलाई प्रश्न

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले धार्मिक विषयलाई उक्साएर शहरलाई अशान्त बनाउने सीमित व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले धार्मिक द्वन्द्व चर्किएपछि मात्र सद्भावका र्‍याली र औपचारिक बैठक गरेर आत्मसन्तुष्टि लिने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएका हुन्।

मेयर सिंहले वीरगंज बाहिर उत्पन्न विवादलाई जबर्जस्ती शहरमा थोपरेर धार्मिक भावना भड्काउने, आफूलाई धर्मको ठेकेदार ठान्ने केही व्यक्तिहरूलाई प्रशासनले किन अझै कानुनी दायरामा ल्याउन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

Advertisement

“वीरगंज किन बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बन्न बाध्य छ?” भन्ने प्रश्न गर्दै उनले सदियौंदेखि जोगिँदै आएको भाइचारा, सहअस्तित्व र सद्भावलाई नियोजित रूपमा भत्काउन खोज्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्पष्ट पारे।

Advertisement

उनले शान्ति–सुरक्षा कायम गर्नु राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै समाजका अगुवा र सरोकारवालाको भूमिका सहजिकरण र सहकार्यमा सीमित हुनुपर्ने बताए। सम्भावित सुरक्षा जोखिमको आँकलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कानुनी कारबाही गर्ने सम्पूर्ण संयन्त्र सरकारसँग हुँदाहुँदै पनि बाहिरबाट आयातित विषयका कारण धार्मिक तनाव चर्किँदा सम्बन्धित निकाय जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति देखिनु दुखद भएको उनको भनाइ छ।

मेयर सिंहले आफ्नो स्वार्थ पूरा गर्न पूरै शहरलाई अशान्त, भयभीत र आक्रान्त बनाउने व्यक्तिहरूलाई पक्राउ गरी निष्पक्ष र कडा कारबाही गर्न प्रशासन किन हिच्किचाइरहेको छ भन्ने प्रश्न पनि उठाए। “वीरगंज कुनै व्यक्ति, समूह वा एजेन्डाको बन्धक होइन; यो शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर हो,” उनले लेखेका छन्।

उनले धर्म भावनासँग जोडिएको विषय भएकाले कसैले कसैको भावनासँग खेल्न नपाउने स्पष्ट गर्दै, भावना भड्काएर समाज बिथोल्न खोज्ने जो–कोहीलाई कुनै पनि हालतमा छुट दिन नहुने दृढ मान्यता व्यक्त गरे। अन्त्यमा उनले आपसी सद्भाव र भाइचारा अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र “वैभव वीरगंज” तर्फ एकजुट भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *