वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पसमा पछिल्लो समय देखिएको अवस्थाबारे गम्भीर छलफल गर्दै हरि खेतान प्राध्यापक संघ र हरि खेतान कर्मचारी युनियनले संयुक्त रूपमा कडा आपत्ति जनाएका छन्।
आज मंगलबार क्याम्पस परिसरमा बसेको संयुक्त बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा क्याम्पसमा गरिएको सुस्मिता यादव र अञ्जली श्रेष्ठको नियुक्तिलाई पूर्ण रूपमा गलत, अवैधानिक तथा अस्वीकार्य ठहर गरिएको छ।
प्रेस विज्ञप्तिमा हरि खेतान बहुमुखी क्याम्पस एक सामुदायिक क्याम्पस भए पनि प्रेम प्रकाश खेतानको एकल हस्ताक्षरमार्फत विधान परिवर्तन गरी खेतान परिवारद्वारा क्याम्पसलाई निजीकरण गर्ने गम्भीर प्रयास भइरहेको आरोप लगाइएको छ। यस किसिमको कार्य क्याम्पसको मूल मर्म, भावना र सामुदायिक चरित्रविपरीत रहेको संघ र युनियनको ठहर छ।
अवैधानिक नियुक्ति र निजीकरण प्रयासको विरोधमा सुस्मिता यादव क्याम्पसमा उपस्थित भएको दिनदेखि नै शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू आन्दोलनरत रहेको जनाउँदै, हिजो विद्यार्थीहरूले उनलाई क्याम्पस परिसरबाट बाहिर पठाउनु स्वाभाविक र प्रत्यक्ष परिणाम भएको उल्लेख गरिएको छ।
उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी जबर्जस्ती निजीकरण गर्न खोज्ने पक्षले नै लिनुपर्ने विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई कुनै किसिमको औपचारिक छात्रवृत्ति नदिई जय प्रकाश खेतानले आफ्नै जे.पी. स्टोरमार्फत इच्छाअनुसार व्यक्तिहरूलाई छात्रवृत्ति वितरण गर्दै आएको कार्यलाई गम्भीर, आपत्तिजनक र भेदभावपूर्ण भन्दै आलोचना गरिएको छ।
यसले सामुदायिक शिक्षाको मूल उद्देश्य र समानताको सिद्धान्तलाई कमजोर बनाएको विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा क्याम्पसमा कार्यरत कर्मचारी, प्राध्यापक तथा विद्यार्थीहरूको साझा मागसमेत सार्वजनिक गरिएको छ।
मागहरूमा निजी विधान तुरुन्त खारेज गर्न, सामुदायिक क्याम्पसअनुसारको विधान अविलम्ब लागू गर्न, सर्वदलीय तथा सर्वपक्षीय बैठक तत्काल आह्वान गर्न, प्रेम प्रकाश खेतानद्वारा गरिएका अवैधानिक नियुक्ति खारेज गर्न तथा एकल हस्ताक्षरबाट पारित असंवैधानिक विधान तत्काल रद्द गर्नुपर्ने उल्लेख छ।
प्रेस विज्ञप्तिमा आन्दोलनका मागहरू पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी पनि दिइएको छ।







