Categories समाचार

वीरगञ्जमा कर्फ्यु समय दोस्रो पटक थप, साँझ ६ बजेसम्म निरन्तर

Advertisement

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश आज दोस्रो पटक समय थप गर्दै साँझ ६ बजेसम्म निरन्तरता दिएको छ।

हिजो निषेधाज्ञा हटाएर कर्फ्यु आदेश जारी गरिएकोमा आज दिउँसो १ बजेसम्म लागू कर्फ्युलाई पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पुनः समय थप गरिएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्युको अवधि आज साँझ ६ बजेसम्म कायम रहनेछ।

Advertisement

कर्फ्यु आदेश वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी लागू गरिएको छ। पूर्वतर्फ बसपार्क–नगबा–इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्र कर्फ्यु क्षेत्र घोषणा गरिएको छ। उक्त सिमानाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

Advertisement

प्रशासनले कर्फ्यु अवधिमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आग्रह गरेको छ। अत्यावश्यक कामले बाहिर निस्कनु परे नजिकको सुरक्षाकर्मीको समन्वयमा वा १०० नम्बरमा सम्पर्क गरी मात्र आवतजावत गर्न अनुरोध गरिएको छ। कर्फ्युका बेला सुरक्षाकर्मीले कडा सुरक्षा अपनाउने प्रशासनको चेतावनी छ।

यद्यपि एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा सम्बन्धी परीक्षार्थी तथा कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *