Categories समाचार

वीरगंजमा सर्वपक्षीय सहमति, शान्ति सुव्यवस्था कायम राख्ने निर्णयसँगै कर्फ्यू आदेश हटाइयो

Advertisement

वीरगंज । वीरगंजमा विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शन र त्यसबाट सिर्जित तनावलाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम गर्न आज २२ गते जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले शान्ति, सद्भाव र सामाजिक सौहार्द कायम गर्ने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा अन्य मुलुक वा स्थानमा घटेका घटना/दुर्घटनालाई आधार बनाएर वीरगंजमा कुनै पनि प्रकारका प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यस्ता विषयमा असन्तुष्टि वा माग भएमा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र पेश गर्ने र त्यसपछि मात्रै आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

Advertisement

भविष्यमा धार्मिक, सामाजिक तथा सद्भावविरुद्ध हुन सक्ने गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने उद्देश्यले स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि गरिएको छ। उक्त संयन्त्रमा हिन्दू समुदायको तर्फबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायको तर्फबाट महमद महबुब अली (शेरु) र अली असगर मदनी रहनेछन्। साथै आवश्यकता अनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि, जिल्लास्थित राजनीतिक दलहरूबाट एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

Advertisement

बैठकले सबै सञ्चारमाध्यम र मिडियाकर्मीलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेको छ। त्यस्तै, धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय गरिएको छ।

साथै सबै पक्षले आफ्ना कमजोरीको आत्मसमीक्षा गर्दै आ–आफ्नो समुदायलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकमा सहभागी सबै संस्था, पार्टी, अभियन्ताले आजका निर्णयहरू आ–आफ्नो वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, निर्णयको समर्थनमा विज्ञप्ति जारी गर्ने र विद्यमान परिस्थितिलाई सहज बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति जनाएका छन्। साथै थप विरोध कार्यक्रम नगर्ने निर्णयसमेत गरिएको छ।
यसैबीच, जिल्ला सुरक्षा समितिको मिति २०८२ साल पुस २१ र २२ गतेको निर्णयअनुसार वीरगंज महानगरपालिकाका केही क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश आज अपरान्ह ३:३० बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हाल जिल्लाको शान्ति सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय तथा दैनिक जीवन सहज बनाउनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै कर्फ्यू आदेश हटाइएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यू आदेश हटाइएको जानकारी गराउँदै सबै नागरिकलाई शान्ति, संयम र सद्भाव कायम राख्न आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *