वीरगंज । नेपाल प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुला गरेको छ।
स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि–२०८२” अनुसार आवश्यक संख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। यसअनुसार योग्यता पुगेका नेपाली नागरिकहरूबाट स्वयम् उपस्थित भई दरखास्त आव्हान गरिएको छ।
सूचना अनुसार निर्वाचन प्रहरी पदका लागि जम्मा १ लाख ३३ हजार ९८० जनाको माग संख्या रहेको छ। दरखास्त दिने मिति २०८२ साल पौष २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको छ। आवेदन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म, सार्वजनिक बिदाका दिन समेत, बुझाउन सकिनेछ।
दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त गरी सोही कार्यालयहरूमा बुझाउनुपर्नेछ।
निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने उल्लेख गरिएको छ। साथै, आतङ्ककारी वा विध्वंसात्मक संगठनको सदस्य नरहेको हुनुपर्नेछ।
शारीरिक मापदण्डतर्फ पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिला उम्मेदवारको न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ। महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने व्यवस्था गरिएको छ।
छनोट प्रक्रियामा पूर्व नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका निवृत्तिभरण वा उपदान प्राप्त सुरक्षाकर्मी तथा पूर्व वन रक्षकलाई प्राथमिकता दिइनेछ। यसैगरी, हालै सुरक्षानिकायमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका, विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा सेवा गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ।
उम्मेदवारले दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ। यसका लागि जन्ममिति २०२८ साल माघ १ गतेदेखि २०६४ साल माघ १ गतेसम्म भएको हुनुपर्ने व्यवस्था गरिएको छ।







