वीरगन्ज । पर्सा जिल्लामा सक्रिय पत्रकारहरूको योगदानलाई कदर गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले विभिन्न तीन वटा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा मंगलबार वीरगन्जमा सम्पन्न कार्यसमिति बैठकले स्वर्गीय गोपालगिरी पत्रकारिता पुरस्कार–२०८२ वरिष्ठ पत्रकार गोविन्द देवकोटालाई प्रदान गर्ने निर्णय गरेको हो।
अढाई दशकभन्दा लामो समयदेखि पर्सालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका देवकोटालाई स्व. गोपालगिरीको पुण्यतिथि माघ १ गते विशेष समारोहबीच सम्मान गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो। सो पुरस्कार नगद ५१ हजार रुपैयाँ र कदरपत्रसहित प्रदान गरिनेछ।
त्यसैगरी, स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ वीरगन्जका अनुभवी पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गरिने भएको छ। महासंघ कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। स्व. पाण्डेको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको र चाँडै औपचारिक कार्यक्रम गरी वितरण गरिने महासंघले जनाएको छ।
यसै क्रममा, स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार पनि घोषणा गरिएको छ। महासंघ पर्सा शाखाका अनुसार पत्रकार माधुरी महतोलाई उक्त पुरस्कार–२०८१ र पत्रकार बिमला गुप्तालाई पुरस्कार–२०८२ प्रदान गरिने निर्णय भएको हो। वीरगन्जमा क्रियाशील महिला पत्रकारहरूको योगदानलाई मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गर्न लागिएको महासंघले जनाएको छ।
महासंघ पर्सा शाखाले पत्रकारितामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।






