वीरगंज । माघ महिनामा प्रयागराजमा आयोजना हुने पावन माघेमेलाको अवसरमा शाही स्नानमा सहभागी हुन जाने नेपालका सम्पूर्ण श्रद्धालु तथा भक्तजनहरूको सुविधा लक्षित गर्दै साहेब बाबा धामको पहलमा विशेष सेवा शिविर सञ्चालन गरिएको छ।
श्री श्री १००८ महामण्डलेश्वर देवेंद्र दास जी महाराजको विशेष निर्देशनमा स्थापना गरिएको “ब्रह्मर्षि साहेब बाबा सेवा शिविर” मार्फत नेपाली श्रद्धालुहरूका लागि खानपान तथा आवासको व्यवस्थित व्यवस्था गरिएको साहेब बाबा धामले जनाएको छ। सेवा शिविरले माघेमेलाका क्रममा श्रद्धालु तथा साधु सन्तहरूलाई सहज र सुरक्षित वातावरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्य लिएको छ।
यसै क्रममा सेवा शिविरमा श्रद्धालु भक्तजन तथा साधु सन्तहरूका लागि पंगत प्रसाद अर्थात् सामूहिक भोजनको व्यवस्था गरिएको छ। शिविरमार्फत निरन्तर रूपमा भोजन, विश्राम तथा आवश्यक सहायताका सेवा उपलब्ध गराइने जानकारी दिइएको छ।
साहेब बाबा धामले नेपालबाट माघेमेलाका लागि प्रयागराज जाने सम्पूर्ण श्रद्धालु तथा भक्तजनहरूलाई सेवा शिविरको सुविधा उपयोग गर्न हार्दिक अनुरोध तथा निमन्त्रणा गरेको छ। “सेवामै धर्म, धर्ममै मानवता” भन्ने मूल भावनासहित सञ्चालन गरिएको यस सेवाकार्यलाई धार्मिक आस्था, भक्ति र मानवताको उदाहरणका रूपमा लिइएको छ।







