बिरगंज । डि.ए.भि. आर.बी. केडिया माध्यमिक विद्यालय, बिरगंजले प्रत्येक वर्षझैं यस वर्ष पनि श्री शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता (चौथो संस्करण) को भव्य उद्घाटन गर्दै पहिलो दिनका खेलहरू सुरु गरेको छ। प्रतियोगितामा बिरगंजका १४ वटा विद्यालयहरूको सहभागिता रहेको छ।
उद्घाटन समारोह केडिया परिवारका अग्रज अभिभावक सुनिल केडियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बलका डी.एस.पी. विष्णुहरि पौडेल उपस्थित थिए। विशिष्ट अतिथिहरूमा नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर साहनवाज अन्सारी तथा शिक्षा प्रमुख डा. रुबि श्रेष्ठ रहेका थिए।
समारोहमा परवानिपुर गाउँपालिकाका शिक्षा प्रमुख रबिन्द्र मिश्र, डि.ए.भि. विद्यालयका भाइस चेयरम्यान डा. विजय अग्रवाल, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, प्याब्सन केन्द्रीय सदस्य श्रेदुप लामा, केडिया परिवारका सौरभ केडिया र सन्दिप केडिया, बिरगंजका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा डाइरेक्टरहरू, कार्यक्रमका प्रायोजक, मिडिया पार्टनर तथा डि.ए.भि. आर.बी. केडिया माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पहिलो दिन सम्पन्न खेलमा डि.ए.भि. आर.बी. केडिया माध्यमिक विद्यालयले डी.पी.एस. स्कुल, बिरगंजलाई ३–२ गोलको अन्तरले पराजित गरेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत डी.पी.एस. स्कुलका रेहान अख्तर ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए।
कार्यक्रमको सहजीकरण डि.ए.भि. आर.बी. केडिया माध्यमिक विद्यालयकी प्राइमरी ईसीए को–अर्डिनेटर सुश्री मेघा दाधिचले गर्नुभएको थियो।







