वीरगञ्ज । नेकपा (एमाले) पर्साका जिल्ला इन्चार्ज प्रभु हजराले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता तथा समर्थकहरूलाई एकताबद्ध भएर मैदानमा उत्रिन आह्वान गरेका छन्।
जिल्ला इन्चार्ज हजराले जारी गरेको अपिलमा वर्तमान राजनीतिक परिस्थितिमा संगठनात्मक एकता, अनुशासन र समर्पण आवश्यक रहेको उल्लेख गर्दै एमालेको विजयी अभियान सफल बनाउन सबै तहका कार्यकर्ताहरू सक्रिय भूमिका खेल्नुपर्ने बताए।
उनले भने, “निर्वाचन केवल प्रतिस्पर्धा मात्र होइन, जनताको भरोसा जित्ने अवसर हो। पार्टीको नीति, कार्यक्रम र घोषणापत्रलाई जनतामाझ पुर्याउँदै घरदैलो अभियानलाई तीव्र बनाउनु आजको प्रमुख आवश्यकता हो।”
हजराले आगामी दिनमा वडा, टोल तथा गाउँस्तरसम्म प्रचार–प्रसार समिति गठन गरी समन्वयात्मक ढंगले अभियान सञ्चालन गरिने जानकारी दिँदै मतदातासँग प्रत्यक्ष संवाद, जनसहभागिता र संगठन विस्तारमा विशेष ध्यान दिन अपिल गरे । अपिलमा उनले एमाले नेतृत्वमा मात्र देशले स्थायित्व, सुशासन र विकासको गति पाउने दाबी गर्दै “जनताको अपेक्षा पूरा गर्ने शक्तिका रूपमा एमाले पुनः स्थापित हुने विश्वास” व्यक्त गरेका छन्।
अन्त्यमा उनले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई व्यक्तिगत मतभेद भुलेर साझा लक्ष्यका लागि एकजुट हुन आग्रह गर्दै “एकता, अनुशासन र समर्पण नै निर्वाचन जित्ने मूल आधार” रहेको स्पष्ट पारे।






