वीरगंज । पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका विषयमा फैलाइएका भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रदेश सभा सदस्य प्रमोद जयसवालले स्पष्टिकरण दिएका छन्। उनले नेकपा एमालेको माघ ३ गतेको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार आफूलाई उच्च मूल्याङ्कनका आधारमा प्रतिनिधिसभा उम्मेदवारका रूपमा छनोट गरिएको सार्वजनिक हुँदा खुशी लागेको भए पनि त्यसपछि पैसामा टिकट लिएको जस्ता झुटा र भ्रामक प्रचार भएकोप्रति दुःख व्यक्त गरे।
जयसवालले आफूले उम्मेदवार बन्न कुनै तहमा अनुरोध नगरेको, प्रदेश सभा सदस्यको कार्यकाल अझै करिब दुई वर्ष बाँकी रहेकाले सम्भव भएसम्म प्रदेशमै रहन चाहेको बताए। जनताको चाहना र पार्टीको आदेश आएमा मात्रै उम्मेदवार बन्ने आफ्नो अडान रहेको उल्लेख गर्दै उनले एमाले पैसामा टिकट बाँड्ने पार्टी नभएको स्पष्ट पारे। झुटा आरोप र सामाजिक सञ्जालमा फैलाइएका गलत भाष्यका कारण सफाइ दिनुपरेको भन्दै उनले यसले आफूलाई मानसिक रूपमा पीडा पुगेको बताए।
पार्टीका केही अग्रज नेताबाट समेत संवाद नआएको र निरन्तर भ्रम फैलिरहेकाले पार्टीलाई प्रदेशमै रहने अनुरोध गर्ने निर्णय लिएको जयसवालको भनाइ छ। उनले यो निर्णय आफ्नो व्यक्तिगत कारणले अग्रज नेताहरूको चित्त नदुखोस् र योग्य अन्य उम्मेदवारलाई अवसर मिलोस् भन्ने भावनाबाट गरिएको स्पष्ट पारे। साथै, अर्को पार्टीमा जाने हल्ला समेत निराधार रहेको भन्दै उनले फोन बन्द गरेको भन्ने आरोपको खण्डन गरे।
जयसवालले एमालेमा धेरै क्षमतावान उम्मेदवार रहेको र पार्टीबाट उम्मेदवारी दिने जो कोहीलाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए। उनले पोखरीयस्थित एमाले पार्टी कार्यालयमा बिहान १०:३० बजे हुने मनोनयन दर्ता कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गर्दै उम्मेदवारलाई जीतको अग्रिम शुभकामना पनि दिए।






